मध्यपहाडका जनताको सुझाव सङ्कलन गर्दै एमाले — OSNepal

मध्यपहाडका जनताको सुझाव सङ्कलन गर्दै एमाले

LC (KTM) December 05, 2023 0

कर्णाली – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘मिसन–८४’ का लागि मध्यपहाडका जनताको सुझाव सङ्कलन गर्न हिँडेको बताउनुभएको छ ।

एमालेले सञ्चालन गरेको ‘झुलाघाट–चिवाभञ्ज्याङ, समृद्धिका लागि सङ्कल्प यात्रा’ अभियानको क्रममा सोमबार सुर्खेत वीरेन्द्रनगरमा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मध्यपहाडी राजमार्गअन्तर्गत पर्ने ग्रामीण क्षेत्रका जनता सुझाव सङ्कलन गर्नुको साथै त्यहाँको विकासको अवस्थालाई राम्रोसँग नियालिएको बताउनुभयो । अभियानबाट एमाले सरकार हुँदाका बखत थालिएका परियोजना र जनतामा पुगेको विकासबारे जानकारी लिन अवसर मिलेको उहाँको भनाइ छ ।

“देशको अवस्था बदल्न र गरिबीबाट मुक्त गर्न हाम्रो पार्टीले नेतृत्व लिन अपरिहार्य देखियो”, अध्यक्ष ओलीले भन्नुभयो, “वैचारिक दूरदृष्टि भएको पार्टी एमालेबाट मात्र देशको परिवर्तन सम्भव भएकाले अब यसलाई कसरी अगाडि बढाउने भनेर मध्यपहाडका जनतासँग राय माग्दै हिँडेका छौँ ।”

पूर्वप्रधानमन्त्री ओलीले सुखी नेपाली र समृद्ध नेपालको राष्ट्रिय आकांक्षालाई लक्ष्य बिन्दुमा पुर्‍याउन ‘मिसन–८४’ मा ५१ प्रतिशत बहुमत ल्याएर देशको नेतृत्व गर्ने ठोकुवा गर्नुभयो ।

गठबन्धनमा आबद्ध दलका राजनीतिक गतिविधिले देशको अवस्था नाजुक हुँदै गएको आरोप लगाउँदै अध्यक्ष ओलीले वर्तमान सरकारले निम्त्याएका बेथितिलाई टुलुटुलु हेरेर बस्न नसकिने चेतावनी दिनुभयो ।

राष्ट्रिय एकता कायम गर्न, देशको स्वाधीनता र सार्वभौमिकतालाई जोगाउन एमाले नेतृत्वको तीन वर्षे सरकारले समृद्धि र विकासको लहर चलाएको तर्क गर्दै अध्यक्ष ओलीले मुलुकमा अहिले देखिएका समस्याको हल एमालेविना असम्भव रहेको जिकिर गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर