म्याग्दीमाआलु खेती विस्तारमा तीन करोडको आयोजना सञ्चालन — OSNepal

म्याग्दीमाआलु खेती विस्तारमा तीन करोडको आयोजना सञ्चालन

LC (KTM) December 05, 2023 0

बेनी- म्याग्दीमा आलु खेतीको विस्तार र प्रवद्र्धनका लागि रु तीन करोड बजेटको आयोजना सञ्चालन भएको छ । गण्डकी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले चालु आर्थिक वर्षमा आलु खेतीका लागि कृषि ज्ञान केन्द्र म्याग्दीमार्फत जिल्लामा उक्त आयोजना सञ्चालन गरेको हो ।

जिल्लामा आलु खेतीको सम्भावना भएको क्षेत्रमा आलु खेतीको विस्तार र कृषकले उत्पादन गरेको आलुलाई बजारीकरणमा सघाउन सो बजेट अनुदानका रुपमा परिचालन गर्न लागिएको कार्यालयले जनाएको छ । उक्त आयोजनाअन्तर्गत प्रस्ताव आह्वान गरेर कृषक समूह र कृषि सहकारी छनोट भएको कार्यालयका अधिकृत सम्झना शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार, छनोट भएका कृषक समूह र सहकारीलाई प्रतिरोपनी रु १२ हजारका दरले बीउ खरिदलगायत उपकरण किन्नका लागि अनुदान उपलब्ध गराइने भएको छ । चालु आर्थिक वर्ष २०८०/८१ मा यस आयोजनामार्फत जिल्लामा यस वर्ष हिउँदे र बर्खे गरी करिब एक सय २५ हेक्टर क्षेत्रफलमा आलु खेती विस्तार हुनेछ ।

कम्तीमा १० घरधुरी समेटिएकोे ३० रोपनीभन्दा बढीमा आलु खेती गर्ने १८ वटा समूह तथा सहकारी अनुदानका लागि छनोट भएको अधिकृत शर्माले जानकारी दिनुभयो । हिउँदे आलु लगाउन बेनी नगरपालिकासहित मङ्गला, मालिका र धवलागिरि गाउँपालिकाका १८ वटा समूहले प्रक्रिया पुर्‍याएर आवेदन दिएका थिए । यी समूहले ५० हेक्टरमा खायन आलु लगाउनेछन् ।

“आलु खेती लगाउने सहकारी र कृषक समूहलाई कूल लागतको ७५ देखि ८५ प्रतिशतसम्म अनुदान उपलब्ध गराउने कार्यविधि छ”, उहाँले भन्नभुयो । सबैभन्दा बढी मङ्गला–३ का धापुङ महिला कृषि समूहले एक सय १४ रोपनीमा हिउँदे आलु लगाउने भएका छन् ।

हिउँदे आलु लगाउनका लागि अन्नपूर्ण र रघुगङ्गाका कृषक समूहबाट आवेदन परेको छैन । स्थानीय जातको आलुको संरक्षण, खेती विस्तार र आयआर्जन वृद्धिमा सहयोग पुर्‍याउन बजेटलाई प्रयोग गरिने केन्द्रले जनाएको छ । म्याग्दीमा हाल स्थानीय सेतो, रातो जातको आलु लगाउने चलन भए पनि हिउँदे आलुको बीउ बाहिरबाट बढी ल्याउने गरेका छन् । म्याग्दीमा बीउको आलु उत्पादन गर्नका लागि समूह छनोट गरेर यस वर्ष १० रोपनीमा लगाउने योजना केन्द्रले गरेको छ ।–––

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर