संसदीय दलको विधान पुनःसंरचना गर्ने रास्वपाको निर्णय — OSNepal

संसदीय दलको विधान पुनःसंरचना गर्ने रास्वपाको निर्णय

LC (KTM) December 11, 2023 0

काठमाडौँ, २५ मङ्सिर : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान पुनःसंरचना गर्ने निर्णय गरेको छ । आज केन्द्रीय कार्यालय वनस्थलीमा बसेको संसदीय दलको बैठकमा दलको विधानमा पुनःसंरचना गर्ने विषयमा छलफल भएको सो पार्टीका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिनुभयो ।

“हामीले यसअघि नै संसदीय दलको विधानको मस्यौदा तयार गरेका थियाैँ । जलेश्वरको बैठकपछि त्यसलाई फेरि पुनःसंरचना गर्नपर्ने भएर विधानसम्बन्धी छलफल गर्‍याैँ”, उहाँले भन्नुभयो ।

बैठकमा आगामी अधिवेशनमा संसद् र संसदीय समितिलाई सक्रिय बनाउने विषयमा छलफल भएको उहाँले बताउनुभयो । उहाँका अनुसार सांसदले आफ्नो क्षेत्रगत समस्या संसदको शून्य समयमा र राष्ट्रिय मुद्दा विशेष समयमा प्रस्तुत गर्ने विषयमा छलफल भएको बताउनुभयो । प्रमुख सचेतक परियारले भन्नुभयो, “पार्टीले राष्ट्रिय मुद्दालाई अध्ययन र अनुसन्धान गरी टुङ्गाउने हिसाबले उठान गर्नेबारे पनि छलफल भयो ।”

सचेतक निशा डाँगीले जनताका मुद्दा र सार्वजनिक महत्वका विषयमा उठाएको मुद्दाको सम्बोधन र समाधानका विषयमा पार्टी कहाँ चुक्यो भन्नेमा छलफल भएको जानकारी दिनुभयो ।

“हामीले विगतमा जे जति मुद्दा उठायाैँ, त्यसलाई टुङ्गोमा पुर्‍याउन बिर्सिएको होकि भन्ने विषय आजको बैठकमा छलफल भयो”, उहाँले भन्नुभयो, “ विगतमा हामी कहिँकतै चुकेको भए आगामी दिनमा कस्ता मुद्दा उठाउने र त्यसलाई कसरी निरन्तरता दिने विषयमा पनि छलफल केन्द्रित भयो ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर