काठमाडौँका अस्पतालहरुमा देखियो कन्तबिजोगको अवस्था — OSNepal

काठमाडौँका अस्पतालहरुमा देखियो कन्तबिजोगको अवस्था

LC (KTM) May 16, 2021 0

काठमाडौं । सरकारको गैरजिम्मेवारपनका कारण काठमाडौंको मुटुमा रहेको वीर अस्पतालले अक्सिजन अभावका कारण आफ्नो नयाँ भवन सञ्चालन गर्न सकेको छैन । अस्पताल प्रशासनले नयाँ सर्जिकल भवनको दुईवटा तलामा कोभिड संक्रमित बिरामीका लागि भन्दै १ सय ७० बेड तयार गरिसकेको छ । तर, अक्सिजनको अभावका कारण बिरामी भर्ना लिन सकेका छैनन् ।

ट्रमा सेन्टरलाई पनि कोभिड अस्पताल घोषणा गरियो तर त्यहाँ पनि अक्सिजन नभएकै कारण कोरोना संक्रमितलाई भर्ना लिएर उपचार गर्न सकेको छैन । वीर अस्पतालको नयाँ भवनमा बेड र अक्सिजनको व्यवस्था गरेर ५ तलासम्ममा बिरामी राखेर उपचार गराउन सकिने र बिरामीको अत्यधिक चाप रहेको अवस्थामा ७ सयसम्म बिरामीलाई उपचार गर्न सकिने अस्पताल प्रशासनले बताइरहेको छ ।नेपाल समाचारपत्र दैनिकमा छापिएको छ ।

तर, समस्या अक्सिजनकै छ ।नयाँ भवनमा बिरामी राख्नका लागि सबै तयारी पूरा भएको छ तर अक्सिजन नभएपछि कोरोना संक्रमितलाई राखेर उपचार शुरु गर्न सकिएको छैन । अस्पताल प्रशासनको अनुसार पहिलो चरणमा १ सयदेखि ३ सय शय्यासम्म सञ्चालन गर्ने योजना थियो ।

त्यति बिरामी राख्नका लागि कम्तीमा ६ सय सिलिन्डर अक्सिजन आवश्यक पर्न जाने भएकाले बिरामी राख्न नसकिएको अस्पताल प्रशासनको भनाइ छ । वीर अस्पतालका निमित्त निर्देशक डा. शान्ता सापकोटाले सरकारको निर्देशनानुसार नयाँ भवन सञ्चालनका लागि तयार गरिए पनि अक्सिजन नपाइएपछि सञ्चालन हुन नसकेको बताउनुभयो । दैनिकजसो कोरोना संक्रमितले अक्सिजन अभावका कारण ज्यान गुमाइरहेको अवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर