सुदूरपश्चिममा माछापालन व्यवसायतर्फ कृषकको आकर्षण बढ्दै — OSNepal

सुदूरपश्चिममा माछापालन व्यवसायतर्फ कृषकको आकर्षण बढ्दै

LC (KTM) December 30, 2023 0

गोदावरी (कैलाली), १४ पुस : पछिल्लो समयमा सुदूरपश्चिममा माछापालन व्यवसायतर्फ कृषकको आकर्षण बढ्दै गएको छ । यहाँका करिब दुई सयभन्दा बढी प्राकृतिक तालतलैया र सयौँ कृत्रिम पोखरीमा व्यावसायिक माछापालन हुँदै आएको छ ।

सरकारी तथ्याङ्कअनुसार सुदूरपश्चिममा वार्षिक १० हजार मेट्रिकटन माछा उत्पादन हुँदै आएको छ । सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुर जिल्ला माछा उत्पादनको प्रमुख केन्द्रका रुपमा विकसित हुँदै गएको मत्स्यविकास केन्द्र गेटा कैलालीका प्रमुख सूर्य शाहीले बताउनुभयो । सुदूरपश्चिममा उत्पादित माछाले यहाँको ७५ प्रतिशत माग धानिरहेको बताउँदै उहाँले बाँकी २५ प्रतिशत भारत तथा अन्य प्रदेशबाट आयात भइरहेको जानकारी दिनुभयो ।

सुदूरपश्चिममा माछाको खपत पनि बढ्दै गएको छ । एक व्यक्तिले वार्षिक सरदर साढे दुई किलो माछा उपभोग गर्दै आएको केन्द्रको तथ्याङ्कले देखाएको छ । उत्पादनमा वृद्धिसँगै आउँदो १० वर्षमा प्रतिव्यक्तिलाई १० केजी उपभोग गराउने लक्ष्य रहेको कार्यालय प्रमुख शाहीले बताउनुभयो । उहाँले आउँदो १० वर्षभित्र ३० हजार मेट्रिकटन उत्पादन पुर्‍याउने लक्ष्य रहेको जानकारी दिनुभयो ।

माछापालक कृषकले समयमा माछाको भुरा, दाना, औषधिलगायत आवश्यक सामग्री नपाउने समस्या रहेको बताइएका छन् । माछा व्यवसायतर्फ कृषकको आकर्षण बढ्दै गए पनि बजारीकरणमा निकै समस्या झेल्नु परेको शाहीको भनाइ थियो ।

कैलाली र कञ्चनपुरमा मात्रै वार्षिक चार हजार आठ सय मेट्रिकटन माछा खपत हुने गरेको छ । केन्द्रका अनुसार प्रदेश भरी वार्षिक करिब १० हजार मेट्रिकटन खपत हुने गरेको छ । मत्स्यविकास केन्द्रका अनुसार दुई जिल्लामा गरी एक हजार सात सय ५० हेक्टर जमिनमा रहेका पोखरीमा माछापालन गरिँदै आइएको छ । तीमध्ये एक हजार तीन सय हेक्टर प्राकृतिक र दुई सय ५० हेक्टर कृत्रिम ताल रहेका छन् ।

कृत्रिम तालमा प्रतिहेक्टर वार्षिक तीन मेट्रिकटन र प्राकृतिक तालमा प्रतिहेक्टर एक मेट्रिकटन माछा उत्पादन हुने गरेको छ । केन्द्रका प्रमुख शाहीका अनुसार सुदूरपश्चिममा ग्रासकार्प, सिल्भरकार्प, विगेटकार्प, रौ, नैनी र भाकुर जातका माछापालन हुने गरेको छ । उहाँले पछिल्लो १० वर्षको अवधिमा सुदूरपश्चिमका पहाडी जिल्लाभन्दा कैलाली र कञ्चनपुरमा माछापालन व्यवसाय निकै फस्टाएको बताउनुभयो ।

एक दशकअघिसम्म यी दुई जिल्लामा करिब ९० प्रतिशत भारतबाट आयात हुने माछा खपत हुने गरेकामा १० वर्षको अवधिमा आन्तरिक उत्पादन बढ्दै गएको जनाइएको छ ।

विभिन्न प्रजातिका माछाका भुरा उत्पादन गरेर मत्स्यपालक किसानलाई बिक्रीवितरण गर्दै आइएको जनाउँदै मत्स्यविकास केन्द्रले पछिल्ला वर्षमा लक्ष्यभन्दा बढी परिमाणमा भुरा उत्पादन भइरहेको उल्लेख गरेको छ । केन्द्रमा ह्याचलिङ, फ्राई, फिङ्गरलिङ र एडभान्स फिङ्गरलिङ साइजका माछाका भुरा उत्पादन गरी बिक्रीवितरण हुने गरेको छ ।

लक्ष्य अनुसार राजस्व सङ्कलन हुन सकेन

कैलाली भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा लक्ष्यअनुसारको राजस्व सङ्कलन गर्न सकेको छैन । मङ्सिर मसान्तसम्म रू चार अर्ब ५८ करोड ३५ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा रू दुई अर्ब ९६ करोड ७१ लाखमात्रै सङ्कलन भएको भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काले जानकारी दिनुभयो ।

खड्काका अनुसार चालु आवको साउनमा रू ७२ करोड ३५ लाख लक्ष्य रहेकामा रू ४६ करोड ८२ लाख, भदौमा रू ८८ करोड ४० लाख लक्ष्य रहेकामा रू ५१ करोड ९३ लाख, असोजमा रू ९७ करोड ८१ लाख लक्ष्य रहेकामा रू ६३ करोड १४ लाख, कात्तिकमा रू ९७ करोड ५२ लाख लक्ष्य रहेकामा रू ६१ करोड ६४ लाख र मङ्सिरमा रू एक अर्ब दुई करोड २५ लाख लक्ष्य रहेकामा रू ७३ करोड ३४ लाख मात्रै राजस्व असुली भएको छ ।

भन्सार कार्यालयको चालु आव २०८०/८१ मा वार्षिक राजस्व सङ्कलनको लक्ष्य रू ११ अर्ब ५८ करोड २४ लाख रहेको छ । चालु आवको पाँच महिना अर्थात् मङ्सिर मसान्तसम्म रू दुई अर्ब ९६ करोड ७१ लाख मात्रै राजस्व सङ्कलन भएको छ जुन वार्षिक लक्ष्यको २५ दशमलव ६१ प्रतिशत मात्र रहेको सूचना अधिकारी खड्काले जानकारी दिनुभयो ।

भन्सार कार्यालयले गत आव २०७९/८० मा पनि कुनै महिनामा राजस्व सङ्कलन लक्ष्यमा पुग्न नसकेको जनाएको छ । गत आवमा वार्षिक राजस्व सङ्कलनको लक्ष्य रू १२ अर्ब ३० करोड ६६ लाख रहेकामा रू आठ अर्ब २९ करोड ६३ लाख असुली भएको थियो । जुन लक्ष्यको ६७ दशमलव ४१ प्रतिशत मात्रै रहेको जनाइएको छ ।

आयातमा कमी भएसँगै राजस्व सङ्कलनमा कमी आएको सूचना अधिकारी खड्काको भनाइ थियो । उहाँले भन्नुभयो, “आयात घट्यो, बढी राजस्व असुली हुने सामान आयातमा कमी आयो । त्यसले राजस्व सङ्कलनमा पनि कमी आएको हो ।” उहाँका अनुसार राजस्व सङ्कलनको लक्ष्य वृद्धि पनि ४० प्रतिशतले बढेर आएकाले राजस्व सङ्कलन लक्ष्यमा पुग्न नसकेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर