पैसठ्ठी हजार हेक्टर बढी जमिनमा सिँचाइ पुर्‍याउने लक्ष्य — OSNepal

पैसठ्ठी हजार हेक्टर बढी जमिनमा सिँचाइ पुर्‍याउने लक्ष्य

LC (KTM) January 07, 2024 0

तनहुँ, २२ पुस । तनहुँ जिल्लामा रहेका खेतीयोग्य जमिनमा बाह्रैमहिना सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यका साथ सिँचाइ क्षेत्रमा काम भइरहेको छ । कूल पैसठ्ठी हजार हेक्टर खेतीयोग्य जमिनमध्ये एकाउन्न हजार छ सय चौध हेक्टरमा खेती गरिँदै आएको छ ।

विभिन्न सिँचाइ योजना सम्पन्न गरी जिल्लामा हाल पाँच हजार सात सय बहत्तर हेक्टर क्षेत्रफल जमिनमा बाह्रैमहिना सिँचाइ सुविधा पुर्‍याइएको जिल्लास्थित सिँचाइ विकास डिभिजन कार्यालयले जनाएको छ ।

खेतीयोग्य रहेका पैसठ्ठी हजार बढी हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यका साथ का भइरहेको कार्यालयका इन्जिनियर एवं सूचना अधिकारी जगन्नाथ चापागाईंले जानकारी दिए । उनका अनुसार गण्डकी प्रदेश र सङ्घीय सरकारबाट विनियोजित बजेटबाट गत वर्ष एक सय ४३ योजनामध्ये ८६ योजना निर्माण सम्पन्न भएका छन् ।

स्रोत सुनिश्चितता भई ठेक्का प्रक्रियाबाट काम भइरहेका योजनाका लागि कम बजेट विनियोजन हुँदा निर्माण प्रभावित हुने गरेको चापागाईंले बताए । “भौगोलिक विकटताका कारण अधिकांश स्थानमा पानीको स्रोत नहुँदा सिँचाइ योजना महँगो हुने गरेको छ”, उनले भने, “अधिकांश पाखोबारी बाँझो रहेकाले सिँचाइको पहुँच पुर्‍याइ स्थानीयवासीको जीवनस्तर माथि उकास्ने लक्ष्य रहेको छ ।”

चापागाईंका अनुसार ठेक्का लागे पनि बजेट विनियोजन नहुँदा जिल्लाका चार योजना अलपत्र बनेको छ । व्यास–५ को साँघे पतेनी, बन्दीपुर–३ कोलपाटा लिफ्ट सिँचाइ योजना, ऋषिङ–५ को अठारबिसे र व्यास–५ को याम्दी खोला चापटार लिफ्ट सिँचाइ योजना रहेका उनले जानकारी दिए । उनले भने, “गत वर्ष बजेट विनियोजन भए पनि चालु आवमा बजेट विनियोजन नहुँदा निर्माण प्रभावित भएको छ ।”

कार्यालयका अनुसार मुख्य योजनाका रुपमा दुई परियोजना रहेका छन् । व्यास–१० को नारेश्वर ताल जलाशय योजनाका लागि एक करोड ९४ लाखमा ठेक्का सम्झौता भएको छ । साथै शुक्लागण्डकी–९ मा पहाड खोला बस्ती संरक्षण कार्यका लागि एक करोड ८९ लाख बजेट विनियोजन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर