टीकापुरमा स्कुटरले ठक्कर दिएर अपाङ्ग भएका टीकाराम भन्छन् 'सरकार सहारा बनोस् ' — OSNepal

टीकापुरमा स्कुटरले ठक्कर दिएर अपाङ्ग भएका टीकाराम भन्छन् ‘सरकार सहारा बनोस् ‘

LC (KTM) January 07, 2024 0

टीकापुर (कैलाली), २२ पुस : टीकापुरको वनागाउँका टीकाराम डगौरा एकाबिहानै घर नजिकै सडकमा हिँडिरहेका बखत स्कुटरले ठक्कर दिएपछि घाइते हुनुभयो । उहाँको खुट्टा, एउटा हात र ढाडमा पनि नराम्रोसँग चोट लाग्यो र लामो समयसम्म उपचार गराउँदा स्वास्थ्यमा सुधार आएन । अहिले डगौरा हिँडडुल गर्न र शौचालय जानसमेत सक्नुहुन्न ।

खेतीपाती गर्दै आउनुभएका ६० वर्षीय उहाँलाई अचेल निकै आर्थिक कठिनाइ भएको छ । “श्रीमती छ र स्याहारेकी छ, आफैँ शौचालय जान पनि सक्दिन, घरभित्रै दिसापिसाब गर्छु”, डगौरा भन्नुहुन्छ, “दुर्घटना गराउनेले जिन्दगी बर्बाद गरिदियो । अहिले सहारा कोही छैन, कसरी जीवन चलाउने भन्ने चिन्ताले साह्रै सताएको छ ।”

टीकापुरकी रइकाशा विकको ढाड भाँच्चिएको छ । भारतमा रोजगारीका सिलसिलामा उहाँको ढाड भाँच्चिएको थियो । त्यसपछि विक समस्यामा पर्दै आउनुभएको छ । “पहिले सामाजिक सुरक्षाभत्ता पाउँथे, गत वर्ष नवीकरण गर्न पाइन”, उहाँ भन्नुहुन्छ, “यस वर्ष कार्ड बनाउने प्रयासमा छु । केही गर्न नसक्दा समस्यै समस्यामा जीवन गुजारीरहेको छु ।”

टीकापुरका डम्बर विकले अपाङ्गता भएकी २३ वर्षीया छोरी स्याहारिरहनुभएको छ । उहाँकी छोरीको हात नचल्ने, कान नसुन्नेलगायतका समस्या छन् । छोरीको मानसिक अवस्था पनि ठीक नभएकाले समस्या थपिएको छ । “छोरीमान्छेलाई स्याहार्न कठिन छ । हामी अरु काम गर्न पाइरहेका छैनौँ”, डम्बर भन्नुहुन्छ, “अपाङ्गता भएका छोरीमान्छे स्याहार्न अझ कठिन हुने रहेछ । त्यसैमाथि उनको मानसिक अवस्था पनि ठीक छैन । यस्तोबेला सरकारले सहयोग गरेको भए केही सहज हुन्थ्यो ।”

अपाङ्गता भएकाका समस्या थुप्रै छन् । जन्मजात, विभिन्न स्वास्थ्य समस्या वा दुर्घटनामा परी अपाङ्गता भएकाको जीवनयापनमा सरकार, परिवार र समाज सहयोगी हुनुपर्छ । अपाङ्गता भएकालाई कुनै क्षेत्र तथा व्यक्तिबाट सहयोग नहुँदा समस्या हुने गरेको उनीहरुको गुनासो छ ।

सरकारले अपाङ्गता भएका ‘क’ र ‘ख’ वर्गका नागरिकलाई सामाजिक सुरक्षाभत्ता उपलब्ध गराउने गरेको छ । टीकापुर नगरपालिकाको तथ्याङ्कअनुसार अपाङ्गता भएका एक हजार १८ जनाले परिचयपत्र लिएका छन् । यस्ता व्यक्तिलाई चार प्रकारको डिजिटल कार्ड दिने गरिएको छ । ‘क’ र ‘ख वर्गको कार्ड पाउनेले सामाजिक सुरक्षाभत्ता पाउने र ‘ग’, ‘घ’ ले शिक्षा, स्वास्थ्य, यातायातलगायतमा सुविधा पाउने गरेका छन् ।

पालिकामा सामाजिक सुरक्षाभत्ता पाउने अपाङ्गता भएकाहरु ‘क’ वर्गका पूर्ण अशक्त ८१ जना र ‘ख’ वर्गको कार्ड भएका अशक्त ४०८ जना छन् । अपाङ्गता परिचयपत्र वितरण कार्यविधि २०७६ बमोजिम गठित समन्वय समितिका सदस्य खगेन्द्र घर्तीमगर आफ्नो काम आफैँ गर्न नसक्ने वा सहयोगी चाहिनेलाई मात्र सरकारले भत्ता सुविधा दिने गरेको बताउनुहुन्छ । “पालिकाले प्रत्येक महिनाको दोस्रो र चौथो शुक्रबार अपाङ्गता परिचयपत्र वितरण कार्यविधि, २०७६ बमोजिम गठित समन्वय समितिको निर्णयअनुसार अपाङ्गता परिचयपत्र दिने गरेको छ”, उहाँ भन्नुहुन्छ, “यो बैठकमा टीकापुर अस्पतालका चिकित्सक सहभागी हुने र स्वास्थ्य परीक्षणअनुसार सिफारिसपछि मात्र वर्गीकरण हुन्छ ।”

यसका साथै नगरपालिकाले प्रत्येक वर्ष अपाङ्गता परिचयपत्र शिविर गाउँगाउँमा गर्ने गरेको महिला बालबालिका शाखा प्रमुख सङ्गीता साह बताउनुहुन्छ । “पालिकाले मागमा आधारित भएर सहायता सामग्रीलगायत जीविकोपार्जनमा सघाउन विभिन्न तालिम र सहयोग उपलब्ध गराउँदै आएको छ”, उहाँ भन्नुहुन्छ, “अपाङ्गता भएकाहरुमा महिलाका समस्या धेरै छन् ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर