केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा आजदेखि महायज्ञ सुरु — OSNepal

केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा आजदेखि महायज्ञ सुरु

LC (KTM) January 10, 2024 0

भक्तपुर, २५ पुस : केदारनाथको शिर मानिएको डोलेश्वर महादेव मन्दिरमा आजदेखि श्रीमद् भागवत कथा ज्ञान महायज्ञ सुरु भएको छ । भारतको मध्यप्रदेशस्थित श्रीकृष्ण गौशाला, महाराष्ट्रस्थित चैतन्य सेवा आश्रम र गुजरातस्थित माँ कालिधामले संयुक्त रुपमा महायज्ञ आयोजना गरेका हुन् ।

केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिको सहयोगमा भारतबाट आएको चैतन्य सेवा आश्रम महाराष्ट्रका संरक्षक ब्रम्हचारीसन्त सन्तोष चैतन्यद्वारा भागवत कथा ज्ञान वाचन गरिएको छ ।

बागमति प्रदेशसभाका सदस्य किरण थापाले महायज्ञको उद्घाटन गर्दै भारतमा रहेको केदारनाथ शरीर भएको जनाउँदै केदारनाथको शिर भाग डोलेश्वरमा रहेको बताउनुभयो । उहाँले भारतबाट आएर यहाँ महायज्ञ गर्नु धार्मिक पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण उपलब्धि भएको जानकारी दिनुभयो ।

भारतबाट आएको भीमाशङ्कर महाराजले सन् २००९ मा डोलेश्वर मन्दिरलाई केदारनाथको शिर भाग रहेको घोषणा गरेपछि यसको चर्चा भारतमा चुलिएको थापाले बताउनुभयो । त्यसयता नेपाल र भारतबाट आउने दर्शनार्थीको भीड बढ्नुको साथै भारतका विभिन्न राज्यबाट यहाँ आएर महायज्ञ गर्नु देशकै लागि उपलब्धिमूलक भएको उहाँको भनाइ थियो ।

महायज्ञमा सहभागी हुन आयोजकको टोलीमा गुरुसहित भारतबाट आउनु भएका दुई सय पाँच जना भक्तजनलाई समितिले निःशुल्क बसोबास एवं सुरक्षाको व्यवस्था गरेको डोलेश्वर मन्दिर संरक्षण समितिका अध्यक्ष धर्मराज बस्नेतले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर