कोशी प्रदेशमा लगानी गर्न गैरआवासीय नेपालीलाई मुख्यमन्त्री कार्कीको आग्रह — OSNepal

कोशी प्रदेशमा लगानी गर्न गैरआवासीय नेपालीलाई मुख्यमन्त्री कार्कीको आग्रह

LC (KTM) January 17, 2024 0

धरान (सुनसरी), ३ माघ : कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले विदेशमा रहेका गैरआवासीय नेपालीलाई कोशी प्रदेशमा धेरै क्षेत्रमा सम्भावना रहेकाले लगानी गर्न आग्रह गर्नुभएको छ ।आज गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को सहयोगमा नेपाल रेडक्रस सोसाइटी सुनसरीलाई रक्त सङ्कलन घुम्ती बस हस्तान्तरणका अवसरमा प्रमुख अतिथि मुख्यमन्त्री कार्कीले कोशी प्रदेशमा लगानी गर्न आउनेलाई प्रदेश सरकारले संरक्षण र प्रवद्र्धन गर्ने बताउनुभयो । “कोशी प्रदेशमा लगानी धेरै सम्भावना छन्, तपाईंहरु लगानी गर्नका लागि आउनुहोस् । सरकारले पुँजी, श्रम र प्रविधिको संरक्षण र प्रवद्र्धन गर्नेछ”, उहाँले भन्नुभयो ।

प्रदेशको विकासका लागि गैरआवासीय नेपालीको पनि महत्वपूर्ण भूमिका हुने भएकाले प्रदेश सरकारले लगानीको वातावरण बनाउन कुनै कसर बाँकी नराख्ने मुख्यमन्त्री कार्कीको भनाइ थियो । मुलुकको विकासका लागि देशभित्र र बाहिर रहने सबै नेपालीको एकता आवश्यक रहेको बताउनुभयो । उहाँले गैरआवासीय नेपाली सङ्घले रक्त सङ्कलन बस उपलब्ध गराएकोमा धन्यवाद व्यक्त गर्नुभयो ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का अध्यक्ष डा बद्री केसीले आफूहरु विदेशमा रहे पनि मनमा सधँै नेपाल रहिरहने र नेपालका लागि सक्दो सहयोग तथा लगानी गर्ने बताउनुभयो । नेपाल रेडक्रस सोसाइटी सुनसरीका अध्यक्ष उमेश थापाले बस उपलब्ध भएपछि रगत सङ्कलन गर्न सहज हुने बताउनुभयो । कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईलगायत विभिन्न सङ्घ संस्थाका प्रतिनिधिको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर