नाम सम्मेलनमा विकासोन्मुख देशको हितमा आवाज उठाएँ : प्रधानमन्त्री — OSNepal

नाम सम्मेलनमा विकासोन्मुख देशको हितमा आवाज उठाएँ : प्रधानमन्त्री

LC (KTM) January 21, 2024 0

काठमाडौँ, ७ माघ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असंलग्न आन्दोलन (नाम)को शिखर सम्मेलनमा विकासोन्मुख देशको हितमा आवाज उठाएको बताउनुभएको छ ।
युगाण्डाको कम्पालामा सम्पन्न भएको नामको १९औँ शिखर सम्मेलनमा सहभागी भई स्वदेश फर्किनुभएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले विश्वका विकासोन्मुख मुलुकले आर्थिक विकास र समृद्वि प्राप्त गर्नका लागि जोड दिनुपर्दछ भन्ने विषय जोडदाररूपमा उठाएको बताउनुभयो ।

“सम्मानित र मर्यादित जीवनका लागि आवश्यक दिगो विकासका लक्ष्यको प्राप्ति असम्भव प्रायः देखिएको छ । नेपाल आफैँ अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुने क्रममा रहे पनि विभिन्न बहुआयामिक चुनौतीको भुमरीमा परेको छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो ।

असंलग्न आन्दोलनले दिगो विकासका लक्ष्यहरू २०३०, पेरिस सम्झौता र अन्य अन्तर्राष्ट्रियरुपमा सहमति भएका विकासका लक्ष्यहरु समयमै हासिल गरी विश्वका विकासोन्मुख मुलुकको आर्थिक विकास र समृद्वि प्राप्त गर्नका लागि जोड दिनुपर्दछ भन्ने विषयलाई आफूले सम्मेलनका क्रममा जोडदाररूपमा उठाएको प्रधानमन्त्रीको भनाइ छ ।

प्रधानमन्त्रीले पत्रकार सम्मेलनमा गर्नुभएको सम्बोधनको पूर्णपाठ यसप्रकार छ ।

असंलग्न आन्दोलनको उन्नाइसौँ शिखर सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरी म आज स्वदेश फर्किएको छु । मेरो नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, परराष्ट्र सचिव सेवा लम्साल, संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापालगायत परराष्ट्र मन्त्रालयका उच्च पदाधिकारीहरू समावेश हुनुहुन्थ्यो । म यही २०८० माघ ४ गते काठमाडौँबाट युगाण्डाको राजधानी कम्पालातर्फ प्रस्थान गरेको कुरा यहाँहरुलाई विदितै छ । यस सम्बन्धमा परराष्ट्र मन्त्रालयबाट जारी प्रेस विज्ञप्ति प्राप्त गर्नु भएकै छ । म युगाण्डाको कम्पाला पुग्दा त्यहाँको विमानस्थलमा युगाण्डाका Hon. Esther D. Anyakun, Minister of State for Relief, Disaster Preparedness and Refugees of Uganda, नेपालका परराष्ट्रसचिव सेवा लम्साल र अन्य उच्च पदाधिकारीहरूले स्वागत गर्नुभएको थियो । विमानस्थलमा सांस्कृतिक झाँकीसहितको स्वागत पाउँदा युगाण्डामा नेपाल र नेपाली सम्मानित भएको महसुस गरेँ ।

कम्पालामा रहँदा म मिति २०८० माघ ५ गते असंलग्न आन्दोलनको १९औँ शिखर सम्मेलनको उद्घाटन समारोहमा सहभागी भएँ । उद्घाटन समारोहमा आन्दोलनका निवर्तमान अध्यक्ष अजरबैजान, आयोजक राष्ट्रका राष्ट्रपति एवं नवनिर्वाचित अध्यक्ष साथै संयुक्त राष्ट्रसङ्घको महासभाका अध्यक्षले सम्बोधन गर्नुभएको थियो । शिखर सम्मेलनलाई नेपाली प्रतिनिधिमण्डलको नेता तथा नेपालका प्रधानमन्त्रीको हैसियतमा मैले सम्बोधन गरेँ, मेरो सम्बोधनको पूर्णपाठ यहाँहरूले परराष्ट्र मन्त्रालयको वेबसाइट र इमेलमार्फतसमेत तत्कालै पाइसक्नुभएको छ ।

यस शिखर सम्मेलनको उच्चस्तरीय संवादको विषय म्भभउभलष्लन ऋययउभचबतष्यल ायच क्जबचभम न्यिदब िबागिभलअभ राखिएको थियो । यहाँहरूलाई थाहा नै छ, सन १९५५ मा इण्डोनेसियाको बाङ्डुङमा सम्पन्न एशिया अफ्रिका सम्मेलनबाट पारित १० सिद्धान्तहरू नै असंलग्न आन्दोलनको सैद्धान्तिक र दार्शनिक आधारशिला हुन् । नेपाल असंलग्न आन्दोलनको संस्थापक राष्ट्रमध्ये एक हो । हामी सन् १९५५ मा बाङ्डुङ सम्मेलनमा सहभागी राष्ट्रमध्ये एक हौँ । स्थापना कालदेखि नै असंलग्न आन्दोलनका सबै शिखर सम्मेलनमा नेपालले उच्चतम तहमा प्रतिनिधित्व गरी आफ्नो स्वतन्त्र दृष्टिकोण प्रस्तुत गरिआएको छ । असंलग्नता र यसका सिद्धान्तहरू नेपालको परराष्ट्रनीतिको आधारभूत मान्यताका रूपमा रहिआएका छन् । यसैका आधारमा अन्तर्राष्ट्रियरूपमा जटिल परिस्थितिहरूका बाबजुद हामीले सबै अवस्थामा मौलिक दृष्टिकोणका साथ स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गरी आएका छौँ ।

मेरो सम्बोधनमा, करिब सातदशक अगाडि दुई महाशक्तिबीचको असहज शीतयुद्धको माहोलमा एशिया र अफ्रिका महादेशका नेताहरूले अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालनका आधारभूत मूल्यहरू बाङ्डुङ सम्मेलनमार्फत प्रतिपादन गरेको स्मरण गर्दै यो असंलग्न आन्दोलनले कयाँै मुलुकको राजनीतिक स्वतन्त्रताको अभिवृद्धि, औपनिवेशिकताको अन्त्य र सार्वभौमसत्ताको संरक्षण गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको कुरालाई जोड दिएँ । त्यसैगरी, असंलग्न आन्दोलन आपसी सहयोगलाई प्रगाढ बनाउने थलो हो । यसबाट आपसी सहयोग तथा समझदारी अभिवृद्धि गरी विश्वव्यापी समृद्धि हासिल गर्ने प्रयास गर्नुपर्नेमा जोड दिएँ ।

नेपालले सार्वभौम समानता, आपसी सद्भाव, आपसी लाभ र द्वन्द्वको शान्तिपूर्ण समाधानका आधारमा सन्तुलित र स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्दछ । असंलग्न आन्दोलनका सिद्धान्तहरु र यसका मूल्य तथा मान्यता हाम्रा लागि महत्वपूर्ण हुनुका साथै परराष्ट्र नीतिको एक आधारभूत सिद्धान्त रहेको उल्लेख गर्दै यसको परिपालनाले शान्ति, मेलमिलाप र समृद्ध विश्व प्राप्त गर्न मार्गनिर्देश गरिरहेको स्पष्ट पारेँ । यस आन्दोलनले हामीहरूबीच आपसी सद्भाव, सहयोग तथा सहकार्य अभिवृद्धि गर्नुका लागि अन्तर्राष्ट्रियस्तरमा मान तथा प्रतिष्ठा बढाउन योगदान गरी रहेको जनाएँ ।

कोभिड महामारीपश्चात आर्थिक पुनरुत्थानले यथोचित गति लिन सकेको छैन । सन् २०१९ मा बाकुमा भएको १८औँ सम्मेलनयता कोभिड–१९ का कारण विश्वले मृत्यु, अभाव तथा वञ्चितीकरण, विस्थापनलगायतका चुनौतीहरूको सामना गर्नुपरेको तथा हाल बढिरहेको भूराजनीतिक ध्रुवीकरण तथा लडाइँ र जलवायु परिवर्तनका कारण साना तथा विकासशील राष्ट्रहरू थप मारमा परिरहेको विषयमा चिन्ता व्यक्त गरेँ ।

हाम्रो सम्मानित र मर्यादित जीवनका लागि आवश्यक दिगो विकासका लक्ष्यको प्राप्ति असम्भव प्रायः देखिएको छ । नेपाल आफैँ अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुने क्रममा रहे पनि विभिन्न बहुआयामिक चुनौतीहरुको भुमरीमा परेको छ । अतिकम विकसित मुलुकहरुलाई विकास साझेदारको बलियो साथ र सहयोगको आवश्यकता रहेको परिप्रेक्ष्यमा असंलग्न आन्दोलनले दिगो विकासका लक्ष्यहरू २०३०, पेरिस सम्झौता र अन्य अन्तर्राष्ट्रियरुपमा सहमति भएका विकासका लक्ष्य समयमै हासिल गरी विश्वका विकासोन्मुख मुलुकको आर्थिक विकास र समृद्धि प्राप्त गर्नका लागि जोड दिनुपर्दछ भन्ने विषय जोडदाररूपमा उठाएको छु ।

त्यसैगरी विश्व आर्थिक तथा वित्तीय संरचनालाई विकासोन्मुख मुलुकको आर्थिक उन्नतिका लागि आवश्यक आर्थिक स्रोत सुनिश्चितता हुनेगरी सुधार गरिनुपर्ने तथा संयुक्त राष्ट्रसङ्घलगायत अन्तर्राष्ट्रिय व्यापार संरचना पनि विकासोन्मुख देशको हित अनुकूल हुनेगरी सुधार गर्न असंलग्न आन्दोलनले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएँ ।

विकसित मुलुकहरुले विकासोन्मुख राष्ट्रहरूलाई प्रदान गर्ने वित्तिय प्रतिबद्धता पूरा गर्ने पर्दछ । अन्तर्राष्ट्रिय व्यापारमा सबैको पहुँच र सहभागिता सुनिश्चित गरी यसको फाइदा कम विकसित मुलुकहरुलेसमेत महसुस गर्न पाउनु पर्दछ । यसर्थ संयुक्त राष्ट्रसङ्घपछिको सबैभन्दा ठूलो प्रतिनिधिमूलक संस्थाका रूपमा असंलग्न आन्दोलनले स्थायित्व र समृद्धिका लागि न्यायपूर्ण भूमिका निर्वाहका लागि अह्म भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएको छु ।

यस आन्दोलनको सफलताका लागि आपसी सहकार्य र सहयोगको विकल्प छैन । समृद्धि केही मलुक तथा वर्गको मात्रै विशेष अधिकार तथा सुविधाको विषय हुन सक्दैन । प्रत्येक व्यक्ति तथा मुलुकले समानरूपमा समृद्धि हासिल गर्नका लागि हामी अग्रसर हुनै पर्दछ भन्ने कुरालाई पनि मेरो सम्बोधनमा उल्लेख गरेको छु ।

शान्तिका दूत गौतम बुद्धले मार्गदर्शन गर्नुभए झैँ नेपाल शान्तिपूर्ण सहअस्तित्वको सिद्धान्तमा अटल विश्वास गर्दछ । त्यसैगरी विविधतामा एकता, वसुधैव कुटुम्बकम् हाम्रा दैनिक जीवन पद्धतिकारुपमा रहिआएका छन् । यी मान्यताहरु हाम्रो सामाजिक (सांस्कृतिक) मूल्यमान्यताका रुपमा परापूर्वकालदेखि रहिआएका छन् ।

हिमालय विश्व जनसङ्ख्याको १५ प्रतिशत तथा पृथ्वीको ५० प्रतिशत जैविक विविधताको घर हो । विश्वका जीवित प्राणीहरुका लागि हिमाल अतिमहत्पूर्ण छ । पर्वतीय मुलुक नेपाल जलवायु परिवर्तनको चपेटामा रहेको छ । त्यसैले हिमाल तथा पर्वतीय पारिस्थितिक प्रणाली र त्यहाँ बसोबास गर्ने मानव समुदायको संरक्षणका लागि नेपालले पैरवी गर्दै आएको विषयलाई यस अवसरमा दोहो¥याउँदै हिमालको आवाजलाई समर्थन गर्नसमेत आह्वान गरेँ ।

असंलग्न राष्ट्रहरूको १९औँ शिखर सम्मेलनले अन्तिम दस्तावेज, कम्पाला घोषणापत्र र प्यालेस्टाइनसम्बन्धी घोषणापत्र पारित गरेको छ । कम्पाला घोषणापत्रले अन्तर्राष्ट्रिय शान्ति, स्थिरता, संयुक्त राष्ट्रसङ्घको सुदृढीकरण, बहुपक्षीयताको प्रवद्र्धन, सार्वभौमिक समानता, स्वतन्त्रता, अहस्तक्षेप, न्यायपूर्ण विश्वव्यवस्था, दक्षिण (दक्षिण सहयोग, आन्दोलनका सदस्यबीच आन्तरिक एकता र सद्भाव, ऐक्यबद्धता, दिगो विकासका लक्ष्य हासिल गर्नेजस्ता विषयमा जोड दिएको छ ।
द्वितीय विश्वयुद्धको समाप्तिपछि विश्वव्यवस्था दुई ध्रुवमा विभाजित रहेको परिस्थितिमा स्वतन्त्रता, स्वाधीनता र आर्थिक विकासको पक्षमा तेस्रो धारकारूपमा विकास भएको असंलग्न आन्दोलनको सान्दर्भिकताबारे केही आशङ्का उत्पन्न भए तापनि असमानता, नवउपनिवेशवाद, भूराजनीतिक द्वन्द, गरिबीजस्ता समस्यायुक्त वर्तमान विश्वमा असंलग्न आन्दोलनको ठूलो भूमिका रहेको कुरामा विमति हुन विश्व व्यवस्थालाई न्यायपूर्ण, समतामूलक बनाउँदै सबै देशलाई स्वतन्त्रता, स्वाधीनता र भौगोलिक अखण्डताको प्रत्याभूति गर्दै विश्वका सबै मानव समुदायले समृद्धि प्राप्त गरी गरिमायुक्त जीवनयापन गर्ने कार्य सम्पन्न गर्न असंलग्न आन्दोलनको महत्व हिजोजति थियो आज पनि त्यत्तिकै रहेको छ ।

शिखर सम्मेलनको समापन समारोहमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसले सम्बोधन गरी विश्वव्यवस्थालाई न्यायोचित, समावेशी र समतामूलक बनाउन असंलग्न राष्ट्रहरुको ठूलो योगदान रहेको उल्लेख गर्दै यसको सान्दर्भिकता अहिलेको विश्व परिवेशमा झनै बढेको बताउनुभयो । सो अवसरमा, युगाण्डाको राष्ट्रपतिले हाम्रा साझा समस्या समाधानमा एकजुट भएर काम गर्न आह्वान गर्नुभयो ।

आयोजक मुलुकका राष्ट्रपतिले १९ जनवरीका दिन सहभागी राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरुको सम्मानमा आयोजना गर्नुभएको क्तबतभ द्यबलत्रगभत मा सहभागी भएँ । उक्त अवसरमा विभिन्न मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरुसँग सङ्क्षिप्त कुराकानी गर्ने अवसर प्राप्त भयो ।

यसै भ्रमणका अवसरमा कम्पाला पुग्दाकै दिनमा नेपाली अवैतनिक वाणिज्यदूतको आयोजनामा त्यहाँ रहेका गैरआवासीय नेपालीसँग छोटो भेटघाट तथा अन्तक्र्रियाको मौका मिल्यो । नेपालीहरूका लागि युगाण्डा तथा अफ्रिका महादेशमा विद्यमान अवसर तथा चुनौतीका बारेमा छलफल भयो । सम्बोधनका क्रममा अवसरहरुको सदुपयोग र समस्याहरूको समाधानका लागि पहल गर्ने बताएँ । श्रीलङ्काका राष्ट्रपति रणिल विक्रमासिङ्गेसँग द्विपक्षीय भेटवार्ता भयो ।

उक्त भेटघाटका अवसरमा द्विपक्षीय सम्बन्ध र आपसीहितका विषयमा कुराकानी भयो । हालै, पहिलो पटक काठमाडौँमा सम्पन्न भएको परराष्ट्रमन्त्रीस्तरीय नेपाल श्रीलङ्का संयुक्त आयोगको बैठकले गरेका निर्णयहरूलाई कार्यान्वयन गर्नेबारेमा समेत छलफल भयो । सार्कलाई गतिशील बनाउन नेपाल र श्रीलङ्काले साझा प्रयत्न गर्नेबारे कुराकानी भएको थियो ।

त्यसैगरी उद्घाटनसत्रका समयमा आयोजक मुलुक युगाण्डाका राष्ट्रपति महामहिम योवरी कागुटा मुसेभेनीसँग चासोका साथ कुराकानी गर्नुभयो । मेरोतर्फबाट असंलग्न आन्दोलनको १९औँ शिखर सम्मेलनमा भारतीय विदेशमन्त्री एस जयशङ्करसँग पनि भेटघाट तथा कुराकानी भयो । हालै काठमाडौँमा सम्पन्न परराष्ट्रमन्त्रीस्तरीय नेपाल–भारत संयुक्त आयोगको बैठकमा भएका सहमतिहरूलाई कार्यान्वयन गर्ने लगायत नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ पार्दै लैजाने विषयमा कुराकानी भयो ।

अन्त्यमा, संयुक्त राष्ट्रसङ्घपछि सबैभन्दा धेरै मुलुकहरू सदस्य रहेको र लामो समयदेखि दक्षिणका ‘ग्लोबल साउथ’ मुलुकहरूलाई स्वाभिमान, स्वाधीनता, स्वतन्त्रता र ऐक्यबद्धताको वैकल्पिक मञ्चका रूपमा रहिआएको असंलग्न आन्दोलनको १९औँ शिखर सम्मेलन सफलतापूर्वक आयोजना गर्नुका साथै कम्पालामा युगाण्डाका राष्ट्रपति योवरी कागुटा मुसेभेनी तथा विगत तीन वर्षदेखि अध्यक्षको हैसियमा आन्दोलनलाई नेतृत्व प्रदान गर्ने अजरबैजानलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।साथै शिखर सम्मेलनको अवधिमा नेपालको सहभागिता र असंलग्न आन्दोलनबारे समाचार सम्प्रेषण गर्नुहुने सबै सञ्चारकर्मी मित्रहरूमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर