दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा आयो पसिना  — OSNepal

दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा आयो पसिना 

LC (KTM) May 08, 2021 0

दोलखा, २५ वैशाख-प्रसिद्ध भीमेश्वर मन्दिरका शिलामा एक घण्टा २५ मिनेटसम्म पसिना आएको छ । आज मध्याह्न १२ बजेर १५ मिनेटदेखि १ बजेर ३० मिनेट जाँदासम्म शिलामा पसिना आएको स्थानीय समाजसेवी भरत प्रधानले जानकारी दिनुभयो ।

यस पटक शिलाको बायाँ र बीच दुवै भागमा पसिना आएको उहाँले बताउनुभयो । बायाँ पसिना आउँदा अनिष्ट हुने बताइएको छ । भीमेश्वरलाई पसिना आएपछि मन्दिर परिसरमा ठूलो सङ्ख्यामा स्थानीयवासी र श्रद्धालु भक्तजन भेला भएका थिए । भीमेसनको शिलामा पसिना आएपछि स्थानीयवासी भेला भएर घण्टा, नगरा, स्थानीय बाजा बजाउँदै ‘कुनै अनिष्ट नहोस्’ भनेर कामना गर्ने र शिलालाई चमरले हम्किने चलन छ । भीमसेनलाई पसिना आएपछि मुलुक र जनतामा अनिष्ट नहोस् भनेर घण्टासहित सबै प्रकारका बाजा बजाइन्छ । पसिना आएको खबर सार्वजनिक हुनासाथ दर्शनार्थी मन्दिर परिसरमा पुगेका थिए ।

शिलामा आएको पसिनालाई कपासले पुछेर दर्शनार्थीलाई प्रदान गरिन्छ । साथै शिलाको पसिना पुछिएको कपास राष्ट्रपति कार्यालयमा पठाउने प्रचलन छ । पसिना पुछिएको कपास राष्ट्रपति कार्यालयमा पठाउनका लागि जिल्ला प्रशासन कार्यालयले जानकारीसमेत गराइसकेको छ । आइतबार राष्ट्रपति कार्यालयलाई भीमेश्वरको महाप्रसाद पठाइने प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिनुभयो ।

शिलामा पसिना आएपछि प्रजिअलगायत सुरक्षा निकायका प्रमुख मन्दिर परिसरमा पुग्नुभएको थियो । भीमेश्वर मन्दिर पूजा व्यवस्थापन समितिहरुसँग बैठक राखेर राष्ट्रप्रमुखसमक्ष महाप्रसाद पठाउने चलनअनुसार आइतबार राष्ट्रपति कार्यालयमा प्रसाद पठाइने निर्णय गरिएको बताइएको छ । महाप्रसाद लिएर सहायक प्रमुख जिल्ला अधिकारी, गुठियार, सल्लाहकार र जनप्रतिनिधिसहितको टोली आइतबार नै राष्ट्रपति कार्यालयमा जाने बताइएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर