अर्थतन्त्रका केही सूचकमा सुधार देखिएको छ : पूर्वअर्थमन्त्री पौडेल — OSNepal

अर्थतन्त्रका केही सूचकमा सुधार देखिएको छ : पूर्वअर्थमन्त्री पौडेल

LC (KTM) February 09, 2024 0

गण्डकी, २६ माघ : नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विप्रेषणको आप्रवाह, विदेशी मुद्राको सञ्चितिलगायत अर्थतन्त्रका कतिपय सूचकमा सामान्य सुधार देखिएको बताउनुभएको छ ।

नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी सङ्गठनको ११औँ केन्द्रीय परिषद्को आज पोखरामा उद्घाटन गर्दै उहाँले मुलुकको अर्थतन्त्रमा केही सुधारका सङ्केत देखिए पनि समस्याबाट भने मुक्त भइनसकेको विचार राख्नुभयो ।

“राजस्वले साधारण खर्च पनि धान्न नसक्ने स्थिति छ, आन्तरिक ऋण उठाएर कर्मचारीलाई तलब र सामाजिक सुरक्षा भत्ता वितरण गर्नुपर्ने अवस्था सिर्जना भएको छ”, पूर्वअर्थमन्त्री पौडेलले भन्नुभयो, “सरकारले राष्ट्रिय गौरवका विकास आयोजनाको भुक्तानीसमेत दिन सकिरहेको छैन, वैदेशिक ऋण र अनुदानमा कटौती भएको छ ।”

पूँजीगत खर्च न्यून भएको भन्दै उहाँले राजस्वको परिचालन सन्तोषजनक नरहेको धारणा राख्नुभयो । माग, आपूर्ति, उत्पादन, आयात, निर्यात आदि घट्दा अर्थतन्त्र सुस्ताएको पौडेलले बताउनुभयो । विदेशी मुद्राको सञ्चिति बढे पनि सरकारले उपयुक्त काममा विदेशी मुद्रालाई खर्च गर्न नसकेको उहाँको भनाइ छ ।

अर्थतन्त्रलगायत मुलुकका सबै क्षेत्र दुरुस्त हुन पहिले राजनीति दुरुस्त हुनुपर्ने एमाले उपाध्यक्षसमेत रहनुभएका पौडेलले बताउनुभयो । संसद्मा रहेको अङ्कगणितका कारण तत्काललाई वर्तमान सरकारको कुनै विकल्प नेदिखएको उहाँले बताउनुभयो ।

नेपाल टेलिकमलाई सक्षम व्यवस्थापन र गुणस्तरीय सेवाका आधारमा प्रतिस्पर्धी कम्पनी बनाउन सकिने भन्दै उहाँले त्यसतर्फ सक्रिय हुन सङ्गठनका पदाधिकारी तथा सदस्यहरूलाई आग्रह गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर