अन्तर मावि जिल्लास्तरीय फुटबलको उपाधि अक्सफोर्ड कलेजलाई — OSNepal

अन्तर मावि जिल्लास्तरीय फुटबलको उपाधि अक्सफोर्ड कलेजलाई

LC (KTM) February 09, 2024 0

नवलपुर, २६ माघ : नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा आयोजित तिलकप्रसाद सापकोटा स्मृति अन्तर मावि जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि गैँडाकोटको अक्सफोर्ड कलेजले जितेको छ ।स्वर्गीय तिलकप्रसाद सापकोटाको स्मृतिमा गैँडाकोटस्थित कालिका संस्कृत विद्यापीठको स्वतन्त्र विद्यार्थी युनियनले आयोजना गरेको प्रतियोगितामा २–१ गोल अन्तरले विजयी हुँदै अक्सफोर्डले उपाधि जितेको हो ।

यही माघ १८ गतेदेखि गँैडाकोटमा आयोजित १६ विद्यालय सहभागी प्रतियोगिताअन्तर्गत आज भएको फाइनल खेलमा अक्सफोर्डले जनक नमूना माविलाई २–१ गोलले हराएको हो । प्रतियोगिताको सुरुआती समयमा अक्सफोर्डका राजीव तामाङले गोल गर्दै लिएको अग्रता दोस्रो हाफमा जनकका विकास सारुले गोल गरेपछि बराबरी भएको थियो । निर्धारित समयमा दुवै तर्फबाट १–१ गोल गरी खेल बराबरी पारेपछि प्रतियोगितामा अतिरिक्त समय थप गरिएको थियो ।

थप गरिएको अतिरिक्त समयको सदुपयोग गर्दै अक्सफोर्डका रिजन कँडेलले गोल गरेर उपाधि रक्षा गर्न सफल भए । अक्सफोर्ड कलेजले उपाधिसँगै रु ६६ हजार छ सय ६६ जितेको छ । प्रतियोगिताको उपविजेतामा चित्त बुझाएको जनक नमूना माविले रु ३३ हजार तीन सय ३३ हात पारेको छ ।

प्रतियोगिताको समापन समारोहमा मन्तव्य राख्दै पूर्वमन्त्री एवं नेपाली कांग्रेस गण्डकी प्रदेशका महामन्त्री विष्णुप्रसाद लामिछानेले स्व सापकोटाको व्यक्तित्वको चर्चा गर्दै उहाँको नाम लिँदा गर्वले छाती चौडा हुने बताउनुभयो । स्वर्गीय सापकोटाले व्यक्तिगत रुपमा प्राप्तीको आशा नगरी मुलुकको परिवर्तनका लागि जीवन नै समर्पित गर्नुभएको भन्दै राजनीति, सामाजिक र शैक्षिक क्षेत्रमा परिवर्तनका लागि ठूलो योगदान पु¥याउनुभएको लामिछानेले स्मरण गर्नुभयो ।

प्रतियोगिताको समापनका अवसरमा स्व सापकोटाका सुपुत्र केशवप्रसाद सापकोटाले बुवाको स्मृति दिवस पारेर आयोजना गरिएको यस प्रतियोगितालाई वर्षेनी सञ्चालन गर्नका लागि सहकार्य गर्ने बताउनुभयो । हरेक वर्ष माघ १७ गते प्रतियोगिता उद्घाटन गर्ने गरी तिलकप्रसाद सापकोटा ट्रष्टले स्ववियुसँग सहकार्य गर्दै अगाडि बढ्ने उहाँको भनाइ थियो ।

प्रतियोगिताको पहिलो पुरस्कार राशि रु ६६ हजार छ सय ६६ स्व सापकोटाको परिवारले प्रायोजन गरेको थियो । प्रतियोगितामा गैँडाकोट नगरपालिका उपप्रमुख शान्ति कोइराला, कालिका संस्कृत विद्यापीठका अध्यक्ष ओमप्रसाद सापकोटा, नेपाल विद्यार्थी सङ्घ नवलपुर जिल्ला कमिटी अध्यक्ष हरि सुवेदीसहितका व्यक्तिले स्व सापकोटाको व्यक्तित्वको चर्चा गर्नुभएको थियो ।
–––

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर