कारगारलाई सिकाइको केन्द्रका रुपमा लिनुपर्छ : मुख्यमन्त्री कार्की — OSNepal

कारगारलाई सिकाइको केन्द्रका रुपमा लिनुपर्छ : मुख्यमन्त्री कार्की

LC (KTM) February 11, 2024 0

मोरङ, २८ माघ : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कारागारलाई सुधार र सिकाइको केन्द्रका रुपमा लिनुपर्ने बताउनुभएको छ ।

जिल्ला कारागार मोरङद्वारा आज कारागार परिसरमा आयोजित ‘डवल डेकर’ (खाट) कैदीबन्दीलाई हस्तान्तरण गर्दै उहाँले यहाँबाट सिकेको ज्ञान र सीपलाई समाज रुपान्तरण र सुधारमा प्रयोग गर्न कैदीबन्दीलाई सुझाव दिनुभयो ।

मुख्यमन्त्री कार्कीले सरकारले कारगारमा दिने परम्परागत सीपलाई आधुनिकीकरण गर्न प्राविधिक अध्ययन गरिरहेको जानकारी दिँदै बन्दीद्वारा उत्पादित सामग्रीको बजारीकरण तथा पहँच विस्तार गरिने दृढता व्यक्त गर्नुभयो । उहाँले बन्दीहरुको मानव अधिकारको संरक्षण, स्वास्थ्य सेवा, कानुनी सहायताका सम्बन्धमा प्रदेश सरकारले चाँडै अवधारणा ल्याउने तयारी गरिरहेको जानकारी दिनुभयो ।

मुख्यमन्त्री कार्कीले कारागारलाई होस्टलका रुपमा सम्झन आग्रह गर्दै यहाँबाट सिकेका सीपलाई साना उद्यमीका रुपमा विकास गर्नुपर्ने भन्दै आवश्यक पूँजीको व्यवस्थाका लागि सरकारले सहजीकरण गर्ने बताउनुभयो ।

कारागार व्यवस्थापन विभागका महानिर्देशक काशीराज दाहालले कैदीबन्दीको सेवा सुविधा वृद्धि, थप बजेटको व्यवस्था, नीति निर्माणमा जोड दिएको बताउनुभयो ।

मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई र मोरङ कारागारका प्रमुख कृष्णहरि न्यौपाने कैदीबन्दीको सेवा सुविधा वृद्धिका लागि आवश्यक पहल भइरहेको बताउनुभएको थियो । सोही अवसरमा कैदीबन्दीले महानिर्देशक दाहाल समक्ष आफ्नो समस्या राखेका थिए ।मोरङ कारागारमा हाल ९९ महिला (चार जना बालबालिका आश्रित)सहित एक हजार ३८ कैदीबन्दी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर