म्याग्दीमा स्थापना भएको ‘भलिबल अक्षयकोष’ मा प्रवासीको ४६ लाख सहयोग — OSNepal

म्याग्दीमा स्थापना भएको ‘भलिबल अक्षयकोष’ मा प्रवासीको ४६ लाख सहयोग

LC (KTM) February 28, 2024 0

म्याग्दी, १६ फागुन : म्याग्दीमा स्थापना भएको ‘भलिबल अक्षयकोष’ मा प्रवासी म्याग्देलीबाट रु ४६ लाख ५१ हजार सहयोग प्राप्त भएको छ । म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) बेलायतको सहयोगमा जिल्ला भलिबल सङ्घको अक्षयकोषमा सो रकम जम्मा भएको हो ।

मोना बेलायतका अध्यक्ष कुमार फगामीले बेनीमा आयोजित कार्यक्रममा उक्त रकम सांसद खमबहादुर गर्बुजामार्फत सङ्घका अध्यक्ष तेजेन्द्र बानियाँलाई हस्तान्तरण गर्नुभयो ।
यसैगरी मोना कुवेतका प्रतिनिधि चन्द्र गोतामेले संस्थाको तर्फबाट रु ५० हजार हस्तान्तरण गर्नुभयो । संस्थागत रुपमा रु पाँच लाख सहयोग गरेको मोना बेलायतले ८३ दातामार्फत थप रु ३८ लाख ६१ हजार सहयोग गरेको अध्यक्ष बानियाँले जानकारी दिनुभयो । कोषका लागि भलिबल सङ्घका पदाधिकारी र सदस्यले रु एक लाख तथा जापानमा व्यवसाय गर्ने मोना अन्तर्राष्ट्रियका अध्यक्ष दधीवल खड्काले रु एक लाख सहयोग गर्नुभएको छ ।

“कोषको रकम वृद्धि गरेर रु एक करोड पु¥याउने लक्ष्य छ”, अध्यक्ष बानियाँले भन्नुभयो । गत असारमा म्याग्दी भलिबल क्लब बेलायतको निमन्त्रणामा बेलायत पुगेका अध्यक्ष बानियाँको प्रस्तावअनुसार मोना बेलायतले अगुवाइ गरेर सहयोग जुटाएको हो । राष्ट्रिय वाणिज्य बैंकको बेनी शाखामा राखिएको कोषको ब्याजबाट म्याग्दी भलिबल कप सञ्चालन, भलिबल प्रशिक्षण तथा कार्यालय सञ्चालन गरिने उहाँले बताउनुभयो । मोना बेलायतले यसअघि म्याग्दीमा तीन एम्बुलेन्स सहयोग गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर