छिमेकी मुलुकसँगको सम्बन्ध प्राथमिकतामा छ : परराष्ट्रमन्त्री — OSNepal

छिमेकी मुलुकसँगको सम्बन्ध प्राथमिकतामा छ : परराष्ट्रमन्त्री

LC (KTM) March 01, 2024 0

काठमाडौँ- परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले छिमेकी मुलुकसँगको सम्बन्ध सधैँ प्राथमिकतामा रहेको उल्लेख गर्दै पारस्परिक विश्वास र सम्मानका आधारमा छिमेकीहरूसँग मैत्रीपूर्ण, सौहार्द्रपूर्ण र सहयोगात्मक सम्बन्ध रहेको बताउनुभएको छ ।

नेपाल विश्व सम्बन्ध परिषद्को ७६औँ वार्षिकोत्सवका अवसरमा बिहीबार यहाँ आयोजित समारोहमा उहाँले नेपालको परराष्ट्र नीति नेपालको संविधान, संयुक्त राष्ट्रसङ्घको बडापत्र, असंलग्नता, पञ्चशीलका सिद्धान्त, अन्तरराष्ट्रिय कानुन र विश्व शान्तिको मान्यताका आधारमा सञ्चालित रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “शान्ति र अहिंसाका प्रवर्तक बुद्धको जन्मभूमि नेपालले विश्व शान्तिको मान्यतालाई आफ्नो परराष्ट्र नीतिको आधारभूत आधार मानेको छ । कुनै पनि विवादलाई वार्ता र शान्तिपूर्ण माध्यमबाट समाधान गर्नुपर्छ भन्ने हाम्रो दृढ विश्वास छ ।”

सो अवसरमा मन्त्री साउदले परिषद्ले विश्व मामिला र परराष्ट्र नीतिका विषयमा गुणस्तरीय प्रवचन र समृद्ध विचारविमर्शको परम्परालाई निरन्तरता दिन सकोस् भनी शुभकामना दिनुभयो । परिषद्का अध्यक्ष हेमन्त खरेलले संस्थाका गतिविधिबारे जानकारी गराउँदै परिषद्ले विगतदेखि नै विषयविज्ञ, प्राज्ञ, व्यावसायिकविज्ञ, राजनीतिज्ञ र कूटनीतिज्ञहरूबीच अन्तरक्रिया, बहस, छलफलका लागि मञ्च प्रदान गर्दै आएको उल्लेख गर्नुभयो । उहाँले यसले नेपालको नीति निर्माण प्रक्रियाको गुणस्तर र प्रभावकारिता बढाउनमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । विकासका लागि साझेदारी विश्वव्यापी क्षेत्रको प्रमुख एजेन्डा भएको बताउँदै अध्यक्ष खरेलले नेपाल सरकार र विकास साझेदारहरूसँगको सामाजिक–आर्थिक सहयोगलगायत अन्तरराष्ट्रिय सम्बन्धलाई प्रवद्र्धन र सुदृढ बनाउने सम्बन्ध परिषद् अग्रणी संस्था भएको उल्लेख गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर