टिट्वान्टी सिरिज स् नेपालले नामिबियालाई तीन रनले हरायो — OSNepal

टिट्वान्टी सिरिज स् नेपालले नामिबियालाई तीन रनले हरायो

LC (KTM) March 01, 2024 0

काठमाडौँ, १८ फागुन : करण केसीको उत्कृष्ट बलिङमा नेपालले त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृङ्खलाअन्तर्गत आज भएको खेलमा नामिबियालाई तीन रनले पराजित गरेको छ ।जितका लागि एक सय ८१ रनको चुनौती पछ्याएको नामिबिया निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ७७ रनमा समेटियो ।

नामिबियालाई अन्तिम ओभरमा जितका लागि १२ रन आवश्यक रहेकामा नेपालका करण केसीले उत्कृष्ट बलिङ गर्दै नामिबियालाई आठ रन मात्रै दिए । योसँगै अन्ततः नेपालको जित सुनिश्चित भएको हो । यो जितसँगै दुई अङ्क जोडेको नेपालले फाइनल खेल्ने सम्भावना प्रबल बनाएको छ ।

नामिबियाको यो हारपछि पनि अङ्तालिकामा भने समान दुई अङ्क नै छ । नेदरल्यान्डसको दुई खेलमा चार अङक रहेको छ । नेपाल पहिलो खेलमा नामिबियासँग २० रनले पराजित भएको थियो भने नेदरल्यान्ड्ससँग २ विकेटले पराजित भएको थियो । त्यस्तै नामिबिया हिजो भएको खेलमा नेदरल्यान्ड्ससँग ५९ रनले पराजित भएको थियो ।

आजको खेलमा नामिबियाका लागि कप्तान जेजे स्मिथले अर्धशतक प्रहार गरे । उनले २६ बलमा ६ चौका र दुई छक्का प्रहार गर्दै ५० रन जोडेका हुन् । जान फ्रिलिङ्कले ३७ रन जोडे भने जेपी कोट्जेले २५ र माइकल भान लिङ्गेनले १० रन बनाए । रुबेन ट्रम्पलम्यानले १४ रन जोड्दा जेन ग्रिनले अविजित २३ रन बनाए ।

बलिङतर्फ नेपालका करण केसी, सोमपाल कामी र कप्तान रोहित कुमार पौडेलले समान दुई÷दुई विकेट लिए भने अभिनाश बोहोराले एक विकेट लिए ।त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ८० रनको योगफल बनाएको थियो ।

नेपालका लागि कुशल मल्लले अर्धशतक प्रहार गरे । उनले ३७ बल खेल्दै एक चौका र चार छक्काको मद्दतमा ५५ रन बनाएका हुन् । कुशलले आरिफ शेखसँग पाँचौ विकेटका लागि ८५ रनको साझेदारी गरेका थिए । आरिफले आउट हुनुअघि २४ बलमा चार चौकाको सहायताले ३१ रन जोडे ।

त्यस्तै गुलशन झाले १६ बल खेल्दै एक चौका र तीन छक्काको ससहायताले २६ रन बनाए भने अनिल शाहले १७ बलमा तीन छक्काको मद्दतमा २३ रन जोडे । दीपेन्द्र सिंह ऐरी आठ बलमा दुई चौका प्रहार गर्दै १६ रनमा आउट भए । कप्तान पौडेल ९ बलमा दुई चौका प्रहार गर्दै १० रनमा आउट भए । त्यस्तै सुरुआती ब्याट्सम्यान आसिफ शेख एक रनमा आउट हुँदा करण केसीले ७ र सोमपाल कामी २ रनमा आउट भए ।

बलिङतर्फ नामिबियाका बेन शिकाङ्गोलले तीन विकेट लिए भने ज्याक ब्रेसलले दुई विकेट झारे । त्यसैगरी बर्नार्ड स्कोल्ज र जान निकोल लोफटी इटनले समान एक÷एक विकेट लिए । अब नेपालले भोलि नेदरल्यान्डसँग खल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर