भ्रष्टाचार नहटेसम्म सुशासन र समृद्धि आउँदैन : कानुनमन्त्री गुरुङ — OSNepal

भ्रष्टाचार नहटेसम्म सुशासन र समृद्धि आउँदैन : कानुनमन्त्री गुरुङ

LC (KTM) March 03, 2024 0

रामपुर (पाल्पा), १९ फागुन : कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले भ्रष्टाचार गर्ने छुट कसैलाई नभएको बताउनुभएको छ । आज  तानसेन महोत्सवको उद्घाटनका अवसरमा मन्त्री गुरुङले भ्रष्टाचारीलाई कारबाही नगरेसम्म मुलुक समृद्धिको बाटोमा अगाडि बढ्न नसक्ने भन्दै भ्रष्टाचार गर्नेलाई कानुनसम्मत कारबाही गरिने बताउनुभयो । उहाँले भ्रष्टाचार नहटेसम्म मुलुकमा सुशासन तथा समृद्धि नहुने पनि उल्लेख गर्नुभयो ।

भ्रष्टाचार अन्त्यका लागि वडाअध्यक्षदेखि मन्त्रीसम्मका सबैको सम्पत्ति छानबिन हुनुपर्छ भन्दै उहाँले भ्रष्टाचारका फाइलहरु खोल्दा जताजतैबाट दबाब आएर काम गर्न कठिनाइ भएको बताउनुभयो । “वडादेखि माथिसम्मका जनप्रतिनिधि र कर्मचारीमा अधिकृतदेखि माथिसम्मका सबैको सम्पत्ति छानबिन गर्छौ त्यसका लागि कानून समेत ल्याउने तयारीमा छौँ”, उहाँले भन्नुभयो ।

तानसेन नगरपालिकाको आयोजनामा आजदेखि कृषि, रोजगार, पर्यटन उद्योग र व्यापार भन्ने नारासहित महोत्सव सुरु भएको हो । महोत्सवमार्फत कृषि, पर्यटन, लघु तथा साना उद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्य लिइएको छ ।

कृषि तथा घरेलु उत्पादन, पर्यटन विकासको उद्देश्यले महोत्सव आयोजना गरिएको तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले बताउनुभयो । कृषि, स्थानीय उत्पादन, घरेलुसहित महोत्सवमा तीन सयभन्दा प्रदर्शनी कक्ष छन् । महोत्सव यही फागुन २९ गतेसम्म चल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर