पुम्दीकोट महादेव मूर्ति पूज्न एकै दिन १० हजार बढी दर्शनार्थी — OSNepal

पुम्दीकोट महादेव मूर्ति पूज्न एकै दिन १० हजार बढी दर्शनार्थी

LC (KTM) March 09, 2024 0

कास्की- पोखरा महानगरपालिका-२२ स्थित पुम्दीकोटमा अवस्थित प्रसिद्ध विशाल महादेव मूर्तिको दर्शनका लागि शिवरात्रिमा एकै दिनमा १० हजार बढी श्रद्धालु भक्तजन पुगेका छन् ।महाशिवरात्री पर्वका अवसरमा पोखरा तथा आसपासका जिल्लाबाट ठूलो सङ्ख्यामा भूमेश्वर (महादेव) को पूजाआजाका लागि भक्तजनको भीड लागेको हो । महाशिवरात्रि पर्वको अवसरमा बिहानदेखि दर्शनार्थी र पर्यटक महादेव मूर्ति परिसरमा जम्मा भएको र यो यसवर्षको सबैभन्दा बढी दर्शनार्थी आएको दिन भएको पुम्दीकोट विकास संस्थाका अध्यक्ष चन्द्रकान्त बरालले बताउनुभयो ।

दक्षिण दिशातर्फ फर्काएर राखिएको ५१ फिट अग्लो महादेवको मूर्तिको दर्शन तथा दूध चढाउनका लागि भक्तजनको बाक्लो उपस्थिति रहेको थियो । श्रद्धालु भक्तजनहरुले विशाल महादेवको मूर्ति परिसरमा पुगेर पूजाआजासहित एक सय आठ शिव लिङ्गमा दूध चढाएका छन् ।

पुम्दीकोट पछिल्लो समयदेखि पर्यटकको आकर्षक गन्तव्यका रूपमा विकास भएको छ । पोखराको मुख्य बजार क्षेत्रबाट १३ किमी दूरीमा रहेको विशाल महादेवको मूर्तिसँगै यहाँबाट पोखरा, फेवाताल र हिमशृङ्खला एकसाथ अवलोकन गर्न सकिन्छ ।

भगवान् शिवको विशाल मूर्तिसहित आकर्षक भौतिक संरचना निर्माण थालिएसँगै यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको संस्थाका अध्यक्ष बरालले बताउनुभयो । विभिन्न पर्वबाहेक पनि दैनिक यहाँ स्वदेश तथा विदेशबाट पर्यटक पुग्ने गरेका छन् ।

यसैगरी महाशिवरात्रीका अवसरमा आज पोखराका अन्य विभिन्न शिव मन्दिरमा भक्तजनको बाक्लो उपस्थिति रहेको थियो । विन्ध्यवासिनी मन्दिर, केदारेश्र लगायतका मन्दिरमा भक्तजनले पूजाअर्चना तथा दूध चढाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर