नवौँ राष्ट्रिय हेटौँडा भेट्रान्सको उपाधि बानेश्वरलाई — OSNepal

नवौँ राष्ट्रिय हेटौँडा भेट्रान्सको उपाधि बानेश्वरलाई

LC (KTM) March 10, 2024 0

मनहरी- हेटौँडामा सम्पन्न नवौँ राष्ट्रिय हेटौँडा भेट्रान्स कप–८ ए साइड रनिङ्ग शिल्ड फुटबल प्रतियोगिताको उपाधि बानेश्वर फ्रेण्डसिप भेट्रान्स क्लबले जितेको छ । सनिबार सम्पन्न फाइनलमा किङ्गकम भेट्रान्स क्लब काठमाडौँलाई १–० गोलअन्तरले पराजित गर्दै बानेश्वरले उपाधि हात पारेको हो ।

खेलको १३औँ मिनेटमा बानेश्वरका लागि हरिहर थापा ‘झलक’ ले गोल निर्णायक बन्यो । त्यसपछि दुवै टोलीले गोल गर्न नसकेपछि खेल बानेश्वरले जित्यो । उपाधिसहित बानेश्वरले रु एक लाख ११ हजार एक सय ११ तथा रनिङ्ग शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता किङ्गकमले रु ५५ हजार पाँच सय ५५ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

फाइनल खेलको प्लेयर अफ द म्याच हरिहर थापा ‘झलक’ घोषित भए । उनलाई प्रतियोगिताको उत्कृष्ट फरवार्ड उपाधिसँगै नगद रु पाँच हजार र शिल्ड प्रदान गरिएको थियो ।

प्रतियोगिताको उत्कृष्ट गोलरक्षक बानेश्वरका प्रदीप तण्डुकार, उत्कृष्ट डिफेन्स महेन्द्र विश्वास खवास, उत्कृष्ट कोच आर्दश मल्ल घोषित भए भने उत्कृष्ट मिडफिल्डर किङ्गकमका विपीन शाह घोषित भए । विधागत तर्फबाट उत्कृष्ट घोषित हुनुभएको खेलाडीलाई नगद रु पाँच हजारसहित शिल्ड प्रदान गरिएको थियो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी किङ्गकमका जगतमान लामा घोषित भइ नगद रु १० हजार र शिल्ड प्राप्त गरे । पुरस्कार प्रदान गर्नुहुँदै हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाले खेलकुद प्रतियोगिता स्वास्थ्य र राष्ट्रका लागि महत्वपूर्ण भएको बताउनुभयो । उपमहानगरपालिकाले खेलकुद क्षेत्रको विकास र खेलाडी उत्पादनका लागि फुटबल एकेडेमी स्पापनाको प्रक्रिया अघि बढाएको उहाँको भनाइ थियो ।

हेटौंडा भेट्रान्स क्लबको आयोजनामा यही फागुन २२ गतेदेखि सञ्चालित प्रतियोगितामा देशभरका १९ वटा टीमको सहभागिता थियो । पैतालिस वर्ष उमेर समूहभन्दा माथिका खेलाडी सम्मिलित उक्त टीममा ५० वर्ष उमेरका दुई जना खेलाडी अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर