पर्वत अस्पतालमा नयाँ प्रविधिवाट फोहर व्यवस्थापन गर्न थालियो — OSNepal

पर्वत अस्पतालमा नयाँ प्रविधिवाट फोहर व्यवस्थापन गर्न थालियो

LC (KTM) March 16, 2024 0

पर्वत, ३ चैत : दैनिकजसो जोखिमयुक्त फोहर जलाउँदा दुर्गन्ध फैलिएपछि पर्वत अस्पतालमा नयाँ प्रविधिवाट फोहर व्यवस्थापन गर्न थालिएको छ । जोखिमयुक्त फोहर जलाउँदा धुँवाले दुर्गन्ध फैलिने, कन्टेनरमार्फत डम्पिङसाइडसम्म लैजाँदा बजार क्षेत्रमा सङ्क्रमण फैलिनेजस्ता समस्या भएपछि नयाँ मेसिन भित्र्याएर व्यवस्थापन गर्न थालिएको हो । अहिले अस्पतालको फोहर ‘अटो क्लेप्स’ मेसिनमार्फत नष्ट गर्न थालिएको छ ।

दैनिकजसो सयौँ बिरामी उपचारका लागि आउने अस्पतालमा फोहरको मात्रा समेत अत्यधिक हुने गरेपछि नयाँ प्रविधि भित्र्याएर अस्पताल भित्रै व्यवस्थापन गर्न थालिएको पर्वत अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शङ्कर गिरीले जानकारी दिनुभयो ।

विसं २०४६ मा अस्पताल स्थापना भएदेखि नै जोखिमयुक्त फोहर व्यवस्थापन गर्दा ‘जलाउने विधि’ रहेकोमा अहिले ‘अटो क्लेप्स’ मेशिनमार्फत व्यवस्थापन गर्न थालेपछि सङ्क्रमण फैलिने र दुर्गन्ध फैलिने दुवै समस्या हटेको उहाँले बताउनुभयो । फोहर जलाउँदा निस्केको धुवाँले अस्पतालमा उपचारका लागि आएका बिरामी मात्र हैन आसपासको बस्तीका बासिन्दालाई पनि प्रत्यक्ष असर गर्ने गरेको थियो ।

स्वास्थ्य संस्थाबाटनै उत्सर्जन भएको धुवाँले वातावरण प्रदूषित बनाउँदै स्थानीयलाई समेत असर गरेपछि अस्पतालमा जोडिएको ‘अटो क्लेप्स’ उपकरणले धुवाँ विस्थापन गरेको अध्यक्ष गिरीले बताउनुभयो । अस्पतालले रु १० लाखको लागतमा उपकरण जडान गरिएपछि फोहर व्यवस्थापनमा सहज भएको हो ।

बस्तीभरि दुर्गन्ध फैलिएपछि स्थानीयवासीले आन्दोलननै गरेका थिए । धुवाँका कारण समुदाय नै दुर्गन्धित बनेको, बस्तीमा बस्न नै कठिन भएकोलगायतका समस्या भएपछि प्रदेश सरकारबाट आएको बजेटबाट अस्पताल व्यवस्थापन समितिमार्फत अटो क्लेप्स मेसिन जडान गरिएको हो । सोही उपकरणबाट फोहरलाई निर्मलीकरण गर्न थालेपछि जलाउनुपर्ने बाध्यताको अन्त्य भएको अध्यक्ष गिरीले बताउनुभयो ।

नागरिकको स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने कीटाणु, रसायन वा अन्य पदार्थको सम्पर्कमा रहेको फोहरलाई नगरपालिकाको फोहर व्यवस्थापन गर्ने सवारीमा सिधै राख्दा उक्त रसायन, पदार्थ, कीटाणु हावा र पानीमा फैलिने जोखिम समेत रहेको थियो । यस्तो फोहरले धेरैलाई सङ्क्रमित गर्ने वा स्वास्थ्यमा हानी पु¥याउन सक्ने भएकोले अस्पताल परिसरमा नै खाडल बनाएर सोही खाडलमा जलाउने गरिएकामा अहिले स्वास्थ्यमा असर नगर्ने खालका फोहर पदार्थ मात्रै नगरपालिकाको सवारीले उठाउने गरेको छ ।

पर्वत अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हेमन्त बास्तोलाले फोहरको वर्गीकरण गरेर जोखिम बहन गरेका फोहरलाई सुरक्षित तवरले अस्पतालमै नष्ट गरिने र सामान्य खालका फोहरलाई नगरपालिकाको सवारीमा पठाउने गरिएको बताउनुभयो । फोहरलाई ‘अटो क्लेप्स’ मेशिनमा राखेपछि कम्तीमा पनि एक सय २२ डिग्री सेल्सियस तापक्रम कायम हुने गरी हानिकारक पदार्थलाई निष्क्रिय गरिदिन्छ । यसरी निर्मलीकरण गरिएको फोहर निकालेर सुकेपछि मात्रै नगरपालिकाको सवारीलाई दिने गरिएको उहाँको भनाइ छ ।

अस्पताल परिसरभित्रै व्यवस्थित फोहर व्यवस्थापन कक्ष स्थापना गरेर वाष्पीकरण विधिबाट सबै कीटाणु र जीवाणुलाई नष्ट गरिएकाले अहिले स्वास्थ्यकर्मी, बिरामी र समुदाय तथा आम नागरिकलाई पनि स्वस्थ रहन मद्दत गरेको डा बास्तोलाले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर