माध्यमिकी परिक्रमा यात्रीको महोत्तरीको यात्रा पूरा — OSNepal

माध्यमिकी परिक्रमा यात्रीको महोत्तरीको यात्रा पूरा

LC (KTM) March 18, 2024 0

महोत्तरी, ५ चैत : मिथिलाको महाकुम्भ पनि भनिने माध्यमिकी परिक्रमाका यात्रीले महोत्तरीको यात्रा पुरा गरेका छन् । यो १५ दिने यात्राको चौथो दिनदेखि आठौंँ दिनसम्मको रात्रिबास महोत्तरीमा गरेका यात्री आज नवौँ दिन बिहान कञ्चनवनबाट धनुषाका लागि प्रस्थान गरेका हुन् । महोत्तरीमा मटिहानी, जलेश्वर, मडै, ध्रुवकुण्ड र कञ्चनवन परिक्रमाका रात्रिबास स्थल रहने स्थापित परम्परा छ ।

परिक्रमाका यात्री आज बिहान कञ्चनवनमा स्नान गरेर रङ् अबिर खेल्दै रामसीताका भजन गाउँदै अघिल्लो यात्राका लागि प्रस्थान गरेका छन् । यसअघि हिजो कञ्चनवन आएर यात्रीले होरी (फागु) महोत्सव मनाएका थिए । अघि त्रेतायुगमा रामसीताले कञ्चनवन पुगेर रङ,अबिर खेलेका विश्वासमा यात्रीले फागु पर्व सुरु गर्ने परम्परा छ ।

आज यात्री धनुषाको क्षिरेश्वरनाथ महादेवको दर्शन गर्दै धनुषाकै पर्वतामा रात्रिबास गर्नेछन् । त्यसपछि १० औँ दिन धनुषाधाम, ११ औँ दिन सतोखरधाम र १२ औँ दिन औरहीमा रात्रिबासपछि परिक्रमा टोली १३ औँ दिनको बासका लागि भारतको मधुवनी जिल्लामा पर्ने करुणा पुग्नेछ । त्यसपछि १४ औँ दिन मधुवनीकै बिसौलमा बसेपछि यात्रीको लश्कर अन्तिम बासका लागि धनुषाको जनकपुरधामस्थित रङ्गभूमि मैदान (बा¥हबिघा) पुग्नेछ । धनुषाकै मिथिलाविहारी–८ ठेराकचुरीस्थित मिथिलाविहारी मन्दिरबाट फागुन औंसीका दिन थालिएको यो यात्रामा यसअघि पहिलो दिनको बास धनुषाकै हनुमानगढीमा गरेका यात्रीले दोश्रो र तेश्रो दिनको बास मधुवनीको कलना (कल्याणेश्वर) र फुलहर (गिरिजास्थान) मा पूरा गरिसकेका छन् ।

अन्तिम दिन रङ्गभूमिमा रात बिताएर भोलिपल्ट जनकपुरधामको अन्र्तगृह परिक्रमा गरेपछि यो यात्रा सम्पन्न हुने परम्परा छ । यो यात्रा सम्पन्न भएको भोलिपल्ट फागुपर्व मनाउँने मैथिल परम्परा छ । मिथिलाविहारी (श्रीराम) र किशोरीजी (श्री सीताजी) का प्रतिमा डोलामा अघि लगाएर गरिने यो १५ दिने यात्रा अलौकिक महाकुम्भ मानिन्छ ।

मिथिला माध्यमिकी परिक्रमा कल्याणदायक हुने र मोक्ष प्राप्त हुने मैथिल जनविश्वास छ । मन, विचार शुद्धि र परोपकारमा लाग्न यो यात्राले अभिप्रेरित गर्ने मैथिल संस्कृतिका जानकार बताउँछन् । माध्यमिकी परिक्रमाको कुल १३३ किलोमीटर दुरीमध्ये महोत्तरी जिल्लामा २९, धनुषामा ७८ र मित्रराष्ट्र भारतको मधुवनी जिल्लामा २६ किलोमीटरको दुरी तय गरिने परम्परा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर