सुदूरपश्चिममा जनक शिक्षाले थाल्यो पाठ्यपुस्तक बिक्री — OSNepal

सुदूरपश्चिममा जनक शिक्षाले थाल्यो पाठ्यपुस्तक बिक्री

LC (KTM) March 27, 2024 0

अत्तरिया (कैलाली)- जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीले सुदूरपश्चिममा आगामी शैक्षिक सत्रका लागि विद्यालयस्तरका पाठ्यपुस्तक बिक्री–वितरण सुरु गरेको छ । जनक शिक्षाले मंगलबारदेखि प्रदेशका पुस्तक व्यवसायीलाई पुस्तक बिक्री–वितरण सुरु गरेको हो ।

प्रदेशका पहाडी जिल्लामा पाठ्यपुस्तक ढुवानी सुरु गरिएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीका प्रमुख रामबहादुर कुँवरले जानकारी दिनुभयो ।   प्रदेशको विकट हिमाली जिल्ला बाजुरामा ढुवानी सुरु गरिएकोे बताउँदै दुई दिनसम्म त्यहाँ पुस्तक ढुवानी गरिने उहाँले बताउनुभयो ।
त्यस लगतै अन्य जिल्लामा पुस्तक ढुवानी गरिने कार्यालय प्रमुख कुँवरले बताउनुभयो । केन्द्रले शैक्षिक सत्र २०८१ का लागि हाल प्रदेशमा कक्षा ५ देखि १० सम्मको पाठ्यपुस्तक बिक्री वितरण सुरु गरेको उहाँले बताउनुभयो ।

कक्षा १ देखि ४ सम्म निजी क्षेत्रले पुस्तक बिक्री वितरण गर्दै आएकोमा आगामी शैक्षिक सत्रका लागि भने जनक शिक्षाले कक्षा ३ र ४ को पाठ्यपुस्तक पनि २० प्रतिशत छुटमा बिक्री–वितरण गर्ने उहाँको भनाइ छ । कक्षा ११ र १२ का लागि भने पछिल्लो चरणमा पुस्तक बिक्री वितरण गरिने उहाँले बताउनुभयो ।

प्रदेशभर १९ लाख १५ हजार एक सय ८५ थान पुस्तक बिक्री–वितरण गर्ने कार्यालयले लक्ष्य लिएको उहाँले बताउनुभयो । “बिक्री लक्ष्यको ८० प्रतिशत पुस्तक सेट यहाँ आइपुगेको छ ।” उहाँले भन्नुभयो, “गोदाम अभाव छ । बाँकी २० प्रतिशत पुस्तक बिक्रीकै क्रममा ल्याउँछौँ ।”

चालु शैक्षिक सत्रमा कक्षा ६ देखि १२ सम्मका १७ लाख ४१ हजार थान पुस्तक बिक्री–वितरण गरिएको उहाँले बताउनुभयो । जनक शिक्षाले पुस्तक बिक्रीका लागि सुदूरपश्चिममा एक सय ६५ पुस्तक बिक्रेतालाई अनुमति दिएको जनाइएको छ ।

नयाँ शैक्षिक सत्रमा समयमै विद्यार्थीको हातमा पुस्तक पुग्ने दाबी गर्दै कार्यालय प्रमुख कुँवरले चालु शैक्षिक सत्रमा ३० करोडको पुस्तक बिक्री गरेकोमा आगामी शैक्षिक सत्रमा ३२ देखि ३५ करोडको पुस्तक बिक्री गर्ने लक्ष्य लिइएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर