नेपाललाई संसार चिनाउन कर्णालीको महत्त्वपूर्ण भूमिका छ : प्रदेश प्रमुख परियार — OSNepal

नेपाललाई संसार चिनाउन कर्णालीको महत्त्वपूर्ण भूमिका छ : प्रदेश प्रमुख परियार

LC (KTM) March 31, 2024 0

कर्णाली – कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले नेपाललाई संसारमा चिनाउन कर्णाली महत्त्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । रेड चिल्ली प्रालिद्वारा शनिवार वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, २०८०’को उद्घाटनमा प्रदेश प्रमुख परियारले कर्णाली प्राकृतिक तथा सांस्कृतिक सम्पदाले भरिपूर्ण भएको बताउनुभयो । उहाँले भन्नुभयो, “कर्णाली सम्भावनाको खानी हो । यसको भरपूर उपयोग गर्न सक्नुपर्दछ ।” यहाँको संस्कृति, भाषा, साहित्य, कलाको विकासले नेपालको स्वर्ग कर्णाली प्रदेश बन्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष योगेन्द्रबहादुर शाहीले कर्मचारी, योजना साहित्य र चलचित्र क्षेत्रमा कर्णालीले ठूलो प्रभाव पारेको बताउनुभयो । उहाँले भन्नुभयो, “एघारौँ र बाह्रौँ शताब्दीमा सुर्खेत काक्रेबिहार, दुल्लु, सिञ्जाहुँदै कैलाश जाने महत्त्वपूर्ण व्यापारिक मार्ग थियो । अहिले पुनःउदय हुन थालेको छ ।”

नेपाली भाषा, सभ्यता, साहित्य, कला र संस्कृतिको जननी मानिएको कर्णालीले धेरै लेखक, साहित्यकार एवं कवि बनाउने बताउनुभयो । उहाँले कथाका माध्यमबाट यहाँको सांस्कृतिक, सामाजिक पहिचानलाई माथि उठाउन सके कर्णाली नेपालको महत्त्वपूर्ण पर्यटकीय गन्तव्य बन्न सक्ने बताउनुभयो ।

प्रतिनिधिसभा सदस्य सोविता गौतमले कर्णाली जत्तिको सुन्दर नेपालमा अरु कुनै पनि ठाउँ नभएको जिकिर गर्नुभयो । कर्णालीको भूगोल अवलोकन गर्ने उद्देश्यले गत वर्ष स्थलगत यात्रा गरेको बताउँदै उहाँले कर्णाली भेरी करिडोरमा ट्रेकिङ ट्रेलको सम्भवना भएकाले यहाँको सुन्दरतालाई विश्वसामु चिनाउन सकिए सिङ्गो नेपालकै आर्थिक समृद्धि हुने जनाउनुभयो । कर्णालीका चुनौती र अप्ठ्यारालाई अवसरका रूपमा लिई विकासमा जोड दिनुपर्ने सांसद गौतमको भनाइ थियो ।

चलचित्र निर्देशक आकाश अधिकारी कर्णाली प्रदेश कला, संस्कृति सभ्यता, वेशभूषा जननी भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँको लवज र बोलिने शब्द कर्णप्रिय छ । यसलाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउन चलचित्र क्षेत्रले मात्र सक्छ ।”

‘घुमौँ कर्णाली, हेरौँ कर्णाली’ नारासहित सुरु महोत्सवमा कर्णालीका मौलिक कथा, परिवेश र चलचित्र, कर्णालीमा चलचित्रको विकास र राज्यको भूमिकाका विषयमा अन्तक्र्रिया भएको थियो । कार्यक्रमका सहभागीले विकास गर्नेका लागि कर्णाली उपयुक्त थलो भएको सुझाउँदै यहाँको संस्कृति र सभ्यता संरक्षण तथा प्राकृतिक सम्पदाको विकास नेपाल सरकारले प्राथमिकतामा राखेर अगाडि बढाउनुपर्नेमा जोड दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर