कमला पुलको पुनःनिर्माण समयमै सम्मन्न गर्न उपप्रधानमन्त्री महासेठको निर्देशन — OSNepal

कमला पुलको पुनःनिर्माण समयमै सम्मन्न गर्न उपप्रधानमन्त्री महासेठको निर्देशन

LC (KTM) March 31, 2024 0

सिरहा, १८ चैत : उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठले हुलाकी सडकखण्डअन्तर्गत सिरहा र धनुषा जोड्ने भासिएको कमला पुलको पुनःनिर्माण समयमै सम्पन्न गर्न पुनः निर्माण कम्पनीका प्रतिनिधिलाई निर्देशन दिनुभएको छ । पुल पुनः निर्माणको स्थलगत निरीक्षण गर्दै उहाँले भन्नुभयो, “समयमै पुल नबन्दा यहाँका जनताले धेरै सास्ती खेप्नुपरेको छ । सरकारले आवश्यक स्रोत र साधनको सबै व्यवस्था गरेकै छ । राष्ट्रिय महत्वको यो पुल अब पनि समयमै बनेन भने निर्माण कम्पनी कारबाहीको भागिदार हुन्छ ।”

सम्झौता भएको १२ वर्षपछि सञ्चालन नहुँदै दुई वर्षअघि सो पुल भासिएको थियो । गत वर्ष वैशाख २४ गते हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुर र पुल निर्माण कम्पनी बीच २०८१ असार मसान्तसम्म भासिएको पुलको पुनःनिर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो ।

निर्माण कम्पनीका ‘साइट इन्चार्र्र्ज’ सुदीप थापाका अनुसार हालसम्म बाँकी रहेका १८ पाएर उठाउने काम मात्र सम्पन्न भएको छभने आगामी वर्ष अगाडि पुलको फाउन्डेसनको काम मात्र सम्पन्न हुनेछ । पुनःनिर्माण सम्झौताको समयअनुसार काम सम्पन्न गर्न प्राविधिक कारणले सम्भव नरहेको उहाँको कथन छ ।

“नदीमा आउने बाढीका कारण वर्षको छ महिना त काम गर्न नै नसकिने रहेछ । यहाँका बालुवा र माटोको बनोटको हिसाबले काम गर्न अन्यन्त जटिल छ । अझ पुलको पश्चिम खण्डमा भासिएको पाएर पुनःनिर्माणको डिजाइन पास पनि भएको छैन,” इन्चार्ज थापाले भन्नुभयो । आफूहरुले बीमा कम्पनीबाट पाउनुपर्ने रु पाँच करोड रकम नपाएको र हाल यस विषयको विवाद काठमाडाँै जिल्ला अदालतमा विचाराधीन भएकाले आर्थिक रुपमा सङ्कटमा परेको उहाँले जानकारी दिनुभयो ।

पुल निर्माण सुरु भएयता १३ वर्षबीचमा उच्चस्तरको सरकारी अनुगमन तथा निरीक्षण पटकपटक भएको छ । यहाँका स्थानीय जनता भने समयमै पुलको काम सकिन्छ भन्नेमा विश्वस्त छैनन् । गत वर्ष फागुन १५ गते तत्कालीन उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले पनि यस भासियको कमला पुलको विषयमा चासो राखी स्थलगत अनुगमन गर्नुभएको थियो ।

त्यसैगरी, यही निर्माणाधीन पक्की पुल नजिकै दक्षिणतर्फ कमला नदीमा नेपालकै सबैभन्दा लामो ‘कठाल मल्हनिया मल्टिस्पान’ झोलुङ्गे पुल गत फागुन १२ गते उद्घाटन गर्न आउनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोही अवसरमा यस भासिएको कमला पुलको हेलिकप्टरबाट निरीक्षण गर्नुभएको थियो ।

सो अवसरमा प्रधानमन्त्री दाहालले आगामी आर्थिक वर्षमा पर्याप्त बजेटको व्यवस्था गरी जीर्ण कमला पुलको पुनःनिर्माण समयमै सम्पन्न गर्नमा सरकारले विशेष ध्यान जानकारी दिनुभएको थियो ।

विसं २०६८ मा तीन वर्षभित्र पुल निर्माण सम्पन्न हुने निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सनसँग सम्झौता गरेको थियो । विभिन्न पटक म्याद थप गरेर करिब १० वर्षपछि ९५ प्रतिशतभन्दा बढी काम सम्पन्न भएपछि पुलको उद्घाटनको तयारी गरिरहेकै बेला २०७८ साल असार र कात्तिकमा आएको बाढीले पुल भासियो । यसपछि पुल निर्माणको काम नै अन्योलमा परेको थियो ।

पुल निर्माणमा निर्माण कम्पनीको लापरबाही देखिएपछि सो निर्माण कम्पनी हटाएर नयाँ कम्पनीलाई काम सम्पन्न गर्ने जिम्मेवारी दिइएको थियो । मधेस प्रदेशको राजधानी जनकपुरधामसँग जोड्ने छोटो दूरीको राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत कमला पुल समयमा निर्माण नहुँदा वर्षाैंदेखि स्थानीयले सास्ती खेप्दै आएको छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर