देश र जनताको हितमा काम गर्न मन्त्री बस्नेतको आग्रह — OSNepal

देश र जनताको हितमा काम गर्न मन्त्री बस्नेतको आग्रह

LC (KTM) April 01, 2024 0

काठमाडौँ, १९ चैत : ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले देश र जनताको हितलाई केन्द्रमा राखेर कर्मचारी प्रशासनले काम गर्नुपर्ने बताउनुभएको छ । मन्त्रालयमा आज आयोजित ऊर्जा सचिव गोपालप्रसाद सिग्देलको बिदाइ समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले कर्मचारी स्थायी सरकार भएकाले कर्तव्य, जिम्मेवारी निर्वाह गर्दा देश र जनताको हितलाई केन्द्रमा राख्नुपर्ने बताउनुभयो ।

विषयवस्तुमाथिको ज्ञान, क्रियाशीलता तथा तत्परताले जटिल कामलाई सम्पन्न गर्न सकिने भएकाले त्यसमा विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ थियो । विषयविज्ञताको हिसाबले केही अब्बल सचिवमध्ये सचिव सिग्देलको भूमिका मन्त्रालयमा महत्वपूर्ण रहेको मन्त्री बस्नेतले स्मरण गर्नुभयो ।

विसं २०७९ फागुनमा जलस्रोत तथा सिँचाइ सचिवका रुपमा कार्यभार सम्हाल्नुभएका सिग्देल पछिल्लो तीन महिनादेखि ऊर्जा सचिवको भूमिकामा रहनुभएको थियो । सरकारको पछिल्लो निर्णयअनुसार, उहाँलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सचिवमा सरुवा गरिएको छ ।

सो कार्यक्रममा जलस्रोत तथा सिँचाइ सचिव सुशीलचन्द्र तिवारी र जल तथा ऊर्जा आयोगका सचिव सरिता दुवाडीले नयाँ जिम्मेवारी सफलतापूर्वक कार्यान्वयन गर्न सचिव सिग्देल सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर