आठ महिनामा १८ सय जुवाडेबाट दुई करोड ६३ लाख असुल — OSNepal

आठ महिनामा १८ सय जुवाडेबाट दुई करोड ६३ लाख असुल

LC (KTM) April 03, 2024 0

काठमाडौँ । नेपाल प्रहरीले चालु आर्थिक वर्षको आठ महिनामा देशका विभिन्न स्थानमा जुवातास खेल्ने एक हजार आठ सय १७ व्यक्तिलाई पक्राउ गरेको छ ।प्रहरी प्रधान कार्यालयका अनुसार चालु आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म देशका विभिन्न भागमा जुवातास खेल्नेलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काठमाडौँ उपत्यकाबाट सात सय ७९, कोशी प्रदेशबाट एक सय १५, बागमती प्रदेशबाट एक सय १३, गण्डकी प्रदेशबाट दुइ सय ९९, लुम्बिनी प्रदेशबाट ९४, कर्णाली प्रदेशबाट एक सय ४ र सुदूरपश्चिम प्रदेशबाट तीन सय १३ जना रहेका छन् ।

उक्त अवधिमा प्रहरीले उनीहरूको साथबाट दुई करोड ६३ लाख ४५ हजार चार सय १७ बरामद गरेको केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।

उक्त अवधिमा प्रहरीले जुवातास खेल्नेबाट पाँच सय ५४ बुक तास र दुई सय ५० थान कौडा बरामद गरेको छ । “जुवा खेलेको विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरेका हौँ”, प्रवक्ता ढकालले भने ।

मुलुकी अपराध संहिता, २०७४ ले जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने दफाअन्तर्गत पहिलोपटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजारसम्म जरिवाना गर्ने कानुनी व्यवस्था रहेको छ ।

यसैगरी दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र ५० हजारसम्म जरिवाना र त्यसपछिको कसुरमा पटकैपिच्छे थप तीन महिनासम्म कैद र १० हजारसम्म जरिवाना गर्ने व्यवस्था रहेको छ । जुवा खेल्न प्रयोग भएको साधन र जुवाबाट प्राप्त सम्पूर्ण चलअचल सम्पत्ति जफत हुने कानुनी प्रावधान समेत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर