सरकार नागरिकमा आशा जगाउन केन्द्रित’ : मन्त्री गिरी — OSNepal

सरकार नागरिकमा आशा जगाउन केन्द्रित’ : मन्त्री गिरी

LC (KTM) April 04, 2024 0

म्याग्दी-कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सरकार नागरिकमा आशा जगाउने काममा केन्द्रित भएको बताउनुभएको छ । म्याग्दीको बेनीमा नेकपा (एमाले) का कार्यकर्तासँगको भेटघाट कार्यक्रममा मन्त्री गिरीले सरकारले नागरिकमा आशा जगाउँदै सुशासन र समृद्धिको मुद्दालाई प्राथमिकता दिएको बताउनुभयो ।

“एक डेढ वर्षको अवधिमा जनतामा चरम निराशा छाएको थियो । जनताको चुलो निभ्ने अवस्था सिर्जना भयो”, उहाँले भन्नुभयो, “जनतामा रहेको निराशालाई चिरेर आशा जगाउनुपर्ने जिम्मेवारी पूरा गर्न वर्तमान सरकारले प्राथमिकता दिएको छ ।”

नागरिकले व्यवहारमा सुशासनको महसुस गर्ने वातावरण बनाउन सरकार भ्रष्टाचार नियन्त्रण गर्न निर्मम भएको मन्त्री गिरीले बताउनुभयो । सङ्घीयता र संविधान कार्यान्वयनका लागि कानुन तथा नीति नियम बनाउन संसद्लाई विजनेस दिन खोजे पनि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अवरोध सिर्जना गरेको उहाँले टिप्पणी गर्नुभयो ।

मन्त्री गिरीले पर्वतको जलजला गाउँपालिका–२ दहमा सोमबार राति हत्या गरिएका सूर्यबहादुर र गमला जिसीका परिवारका सदस्यलाई भेटेर सान्त्वना दिनुभयो । घटनामा संलग्नको पहिचान गरी पक्राउ गर्न सुरक्षा संयन्त्र परिचालन भएको र अपराधीलाई कानुनअनुसारको कारबाही गरिने उहाँले बताउनुभयो ।

भेटघाट कार्यक्रममा एमाले म्याग्दीका उपाध्यक्ष प्रमोद श्रेष्ठले म्याग्दीको विकासका लागि मन्त्री गिरीसँग जिल्लावासीले अपेक्षा राखेको बताउनुभयो । बेनी नगरपालिकाका प्रमुख सुरत केसीले कानुनको अभावमा स्थानीय सरकारले प्रभावकारी काम गर्न नसकेको गुनासो गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर