शोधनान्तर स्थिति तीन खर्ब २७ अर्बले बचतमा — OSNepal

शोधनान्तर स्थिति तीन खर्ब २७ अर्बले बचतमा

LC (KTM) April 04, 2024 0

काठमाडौँ, २२ चैत : मुलुकबाट बाहिरिनेभन्दा भित्रने मुद्राको मात्रामा उल्लेख्य वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवका आठ महिनाको विवरणअनुसार यस अवधिमा शोधनान्तर स्थिति रु तीन खर्ब २७ अर्ब ५५ करोडले बचतमा रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु एक खर्ब ४२ अर्बले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब आठ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा रु दुई अर्ब ४६ करोडले बचतमा रहेको छ ।

केन्द्रीय बैंकका अनुसार समीक्षा अवधिमा चालु खाता रु एक खर्ब ६६ अर्ब ८७ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु ५५ अर्ब २८ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा रु ४२ करोड ९३ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा रु एक अर्ब २५ करोडले बचतमा रहेको छ ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ३० दशमलव दुई प्रतिशतले कमी आई रु तीन अर्ब ८९ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु पाँच अर्ब ६३ करोडले धनात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु पाँच अर्ब ५८ करोड कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु एक अर्ब १७ करोडले धनात्मक रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर