कर्णाली प्रदेशमा सातवर्षे स्वास्थ्य सेवा रणनीतिक कार्ययोजना तयार — OSNepal

कर्णाली प्रदेशमा सातवर्षे स्वास्थ्य सेवा रणनीतिक कार्ययोजना तयार

LC (KTM) April 05, 2024 0

काँक्रेविहार (सुर्खेत), २३ चैत : कर्णाली प्रदेशमा वास्थ्य सेवा रणनीतिक कार्ययोजना तथा स्वास्थ्य पुनःस्थापना लागि सातवर्षे ‘स्वास्थ्य सेवा रणनीतिक कार्ययोजना’ तयार पारिएको छ ।

प्रदेशमा पर्याप्त, दक्ष जनशक्ति, पूर्वाधार, औषधि र उपकरणको अभावले स्वास्थ्य सेवामा सहज पहुँच पुग्न नसकेको, सेवाग्राहीको न्यून सचेतना, भौगोलिक कठिनता, लगानी बढी लाग्नेलगायत समस्या रहेकाले प्राथमिकताअनुसार त्यसलाई समाधान गर्न ‘स्वास्थ्य सेवा रणनीतिक कार्ययोजना’ तयार गरिएको हो ।

कर्णालीमा सडक दुर्घटना, भौगोलिक अवस्थाबाट अपाङ्गता हुने क्रम बढेकाले सचेतीकरण, उपचार र पुनःस्थापनाका लागि स्वास्थ्य पुनःस्थापना रणनीतिक कार्ययोजना तयार गरिएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख वृषबहादुर शाहीले बताउनुभयो ।

उक्त कार्ययोजनामा स्वास्थ्य नीतिले अङ्गीकार गरेका लक्ष्य प्राप्तिका लागि प्रदेश सरकारले विशेष कार्यनीतिहरुको माध्यमबाट विभिन्न क्रियाकलाप गर्ने योजना बनाएको उहाँले बताउनुभयो । उपलब्ध साधन स्रोत र अवसरको अधिकतम उपयोग गरी दिगो विकास लक्ष्यले तोकेका सूचकको उपलब्धि हासिल गर्ने लक्ष्य रहेको उहाँको भनाइ छ ।

सङ्घीयतापछि कर्णालीको स्वास्थ्य अवस्थामा क्रमशः सुधार आउँदै गरेको, प्रदेशका अधिकांश जिल्ला अस्पताल निर्माणाधीन अवस्थामा रहेका छन् । स्थानीय पालिकमा पनि अस्पताल तथा स्वास्थ्य केन्द्र निर्माण भइरहेका शाहीले बताउनुभयो ।

कर्णालीमा प्रोत्साहन भत्ता उपलब्ध भएकाले स्वास्थ्यकर्मीको आकर्षण बढेको, महामारी रोकथाम, नियन्त्रण, निदानका लागि स्वास्थ्यजन्य औजार तथा उपकरण उपलब्ध भएको, औषधि तथा उपकरणको सहज वितरणका लागि प्रादेशिक स्वास्थ्य आपूर्ति तथा व्यवस्थापन केन्द्रको स्थापना भएको, प्रदेशका सबै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू भएको महाशाखा प्रमुख शाहीले जानकारी दिनुभयो ।

“यति हुँदाहँुदै पनि सर्ने रोग तथा नसर्ने रोगको सङ्क्रमण बढ्दै गएको छ । प्रदेशको भौगोलिक अवस्थाले प्राकृतिक विपद्, सडक दुर्घटना, रुख तथा भिरबाट खसेर घाइते भएकाको पुनःस्थापना हुन सकेको छैन”, उहाँले भन्नुभयो, “स्वास्थ्य क्षेत्रमा १० प्रतिशत पनि बजेट विनियोजन हुन नसक्दा ती समस्या आएका हुन् ।” खाद्य पदार्थमा अत्यधिक विषादीले मानव स्वास्थ्यमा बढी असर परिरहेको उहाँको भनाइ छ ।

प्रदेश योजना आयोगका उपाध्यक्ष योगेन्द्रबहादुर शाहीले स्वास्थ्य रणनीतिक कार्ययोजना तयार भएकाले अब प्राथमिकीकरण गरेर काम गर्न सहज हुने बताउनुभयो । तयार कार्ययोजनाअनुसार काम गर्न सके कर्णालीको स्वास्थ्य क्षेत्रमा थप सुधार आउने उहाँको दाबी छ ।

प्रदेश स्वास्थ्य सेवा निर्देशक डा रबिन खड्काले सीमित स्रोतसाधनबाट धेरै लाभ लिनसक्ने योजनाहरु कार्ययोजनामा समावेश गरिएको बताउनुभयो । कर्णालीको कठिन भूगोलले अपाङ्गता हुने क्रम पनि बढिरहेकाले अपाङ्गता तथा पुनःस्थापनाको क्षेत्रमा पनि काम गर्न अति आवश्यक भएको उहाँले उल्लेख गनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर