गीतकार थापा र गायिका निशा देशार सम्मानित — OSNepal

गीतकार थापा र गायिका निशा देशार सम्मानित

LC (KTM) April 12, 2024 0

मनहरी,३० चैत – भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठानले गीतकार राजेन्द्र थापा र गायिका निशा देशारलाई सम्मान गरेको छ । गीतकार थापा रु एक लाख राशिको ‘बिजुली माया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार’बाट थापा सम्मानित हुनुभएको हो ।

वरिष्ठ गीतकार नगेन्द्र थापा, साहित्यकार एलबी क्षेत्री,मञ्जु थापा,गायिका सुशीला मानन्धरले गीतकार थापालाई बिहीबार हेटौँडामा आयोजित कार्यक्रममा नगदसहित दोसल्ला ओढाएर सम्मान गर्नुभयो ।

यसैगरी, रु २५ हजार राशिको ‘भीम विराग युवा सङ्गीत पुरस्कार २०७९’ बाट गायिका देशार सम्मानित हुनुभयो ।

सम्मानपछि गीतकार थापाले आफूले भोगेको समाज, परिस्थितिलाई गीतका माध्यमबाट व्यक्त गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “म बन्दुक बोकेको मान्छे हुँ तर कलम मेरो प्रिय हो, भीम विरागलाई सम्झिरहनेछु, म उहाँको प्रशंसक हुँ ।”

उद्यमी–व्यवसायी कन्हैयाकृष्ण श्रेष्ठले २०६४ सालमा आमा बिजुलीमाया वनः श्रेष्ठको नाममा बिजुली माया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय पुरस्कार स्थापना गर्नुभएको हो । यसबाट गीत तथा सङ्गीत क्षेत्रका सशक्त व्यक्तित्व अम्बर गुरुङ, प्रेमध्वज प्रधान, भक्तराज आचार्य, फत्तेमान राजभण्डारीलगायत सम्मानित हुनुभएको छ ।

प्रतिष्ठानका अध्यक्ष केशवलाल श्रेष्ठले थापा र देशारको योगदानको कदर गर्दै उहाँहरूलाई सम्मान गरिएको बताउनुभयो । प्रतिष्ठानले भाषा, साहित्य, कला र सङ्गीतको उन्नयनमा योगदान गर्नेलाई पुरस्कार प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर