मधेस प्रदेशका मुख्यमन्त्री यादवको विश्वासको मतसम्बन्धी प्रस्ताव पेस — OSNepal

मधेस प्रदेशका मुख्यमन्त्री यादवको विश्वासको मतसम्बन्धी प्रस्ताव पेस

LC (KTM) April 16, 2024 0

जनकपुरधाम, ४ वैशाख : मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनमत पार्टीको विरोधकाबीच विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नुभएको छ ।आज दिउँसो सुरु भएको प्रदेशसभा बैठकमा जनमत पार्टीको विरोधका बीच सभामुख रामचन्द्र मण्डलले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने समय दिनुभएपछि मुख्यमन्त्री यादवले सो प्रस्ताव पेस गर्नुभएको हो ।

गत माघ आठ गते सप्तरीको राजविराजस्थित मधेस कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रममा भएको झडपका विषयमा संसदीय छानबिन समितिको माग गर्दै जनमत पार्टीका प्रदेशसभासदस्यले प्रदेशसभाभित्रै वेल घेराउ गरी विरोध जनाएको छ ।

सभामुख मण्डलले सहमतिका लागि दुई पटक बैठक स्थगित गरे पनि जनमत पार्टीले सो घटनाबारे सत्यतथ्य छानबिन गर्न संसदीय छानबिन समिति बनाउनुपर्ने र मुख्यमन्त्री यादवले राजीनामा दिनुपर्ने माग राख्दै आएको छ । जनमत पार्टीका प्रदेशसभा सदस्यले नाराबाजी गर्दै विरोध गरिरहेको बेला नेकपा (एमाले) प्रदेशसभा संसदीय दलका उपनेता दीपेन्द्र ठाकुरले व्यक्तिगत घटनालाई लिएर प्रदेशसभा अवरोध गर्न नमिल्ने भनी प्रतिवाद गरेपछि माहोल थप तनावग्रस्त बनेको थियो ।

बैठकको सुरुमै जनमत पार्टीका प्रदेशसभा सदस्य चन्दनकुमार सिंहले आफनो पार्टीका संसदीय दलका नेता एवं तत्कालीन शिक्षा तथा संस्कृतिमन्त्री महेशप्रसाद यादवलगायतका नेताहरूमाथि भएको आक्रमणको विषयमा पटकपटक ध्यानाकर्षण गराउँदासमेत सुनुवाइ नभएकोले बैठक नचल्ने बताउनुभएको थियो ।

केन्द्रमा सत्तासमीकरण फेरिएसँगै तत्कालीन सत्तासाझेदार दल नेपाली कांग्रेसले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लाग्नुभएको हो । उहाँले मुख्यमन्त्री नियुक्त भएयता यो चौथो पटक विश्वासको मत लिन लाग्नु भएको हो ।

यसैबीच मधेस प्रदेश सरकारमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट मन्त्री बन्नुभएका वन तथा वातावरणमन्त्री रमेशप्रसाद कुर्मीले आजै राजीनामा दिनुभएको छ । लोसपाले मुख्यमन्त्री यादवलाई विश्वासको मत नदिने भएपछि सरकारबाट फिर्ता बोलाइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर