यूएईविरुद्ध नेपालको कमजोर ब्याटिङ — OSNepal

यूएईविरुद्ध नेपालको कमजोर ब्याटिङ

LC (KTM) April 19, 2024 0

काठमाडौँ, ७ वैशाखः एसिसी प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको सेमिफाइनलमा नेपालले कमजोर ब्याटिङ गरेको छ ।

ओमानको अल अमरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा जम्मा एक सय १९ बनाउन सक्यो ।

पारीको पहिलो बलमा ओपनर कुशल भुर्तेललाई गुमाएको नेपालले दोस्रो विकेटका रुपमा ओपनर आशिफ शेखलाई व्यक्तिगत आठ रनमा गुमायो । त्यसपछि सन्दीप जोराले अर्धशतकीय पारी खेल्दै खेल अगाडि बढाउने प्रयास गर पनि अन्य ब्याटरले साथ दिन सकेनन् । जोराले ४० बलमा दुई छक्का र चार चौकाको सहयोगमा ५० रन बनाए । गुलसन झाले २० रन र करन केसीले १७ रन बनाए भने अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

कप्तान रोहितकुमार पौडेल १८ बलमा जम्मा पाँच रन बनाएर आउट भए । कुशल मल्लले तीन, दीपेन्द्र सिंह ऐरीले पाँच, सोमपाल कामीले दुई रन मात्रै बनाउन सके । अविनास बोहोराले एक र ललित राजवंशीले दुई रन बनाए ।

नेपाललाई सस्तैमा समेट्ने क्रममा यूएईका लागि जुनैद सिद्दिकी, अली नासिर र बासिल हमिदले दुई÷दुई विकेट लिए भने ओमिद साफी रहमान, आयान अफजल खान र मुहम्मद फरुकले एक÷एक विकेट लिए ।

नेपाल समूह ‘ए’ को बिजेता रुपमा सेमिफाइलमा पुगेको हो भने युएई समूह ‘बी’को उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको हो ।

समूह चरणको खेलमा नेपालले सबै चार खेलमा जित हात पारेको थियो । नेपालले मलेसियालाई पाँच विकेट, कतारलाई ३२ रन, हङकङलाई आठ विकेट र साउदी अरेबियालाई छ विकेटले पराजित गरेको थियो ।

त्यसैगरी युएईले कुवेतलाई सात विकेट, बहराइनलाई ३७ र कम्वोडियालाई नौ विकेटले हराएको थियो भने ओमानसँग नौ विकेटको पराजित भएको थियो । आजै हुने अर्को सेमिफाइनलमा ओमान र हङकङबीच प्रतिस्पर्धा हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर