सङ्खुवासभाको भोटखोलामा अवरुद्ध टेलिफोन सेवा एक सातापछि सञ्चालनमा — OSNepal

सङ्खुवासभाको भोटखोलामा अवरुद्ध टेलिफोन सेवा एक सातापछि सञ्चालनमा

LC (KTM) April 19, 2024 0

किमाथाङ्का (सङ्खुवासभा), ७ वैशाख : सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोलामा सञ्चार सेवा अवरुद्ध टेलिफोन सेवा सञ्चालनमा आएको छ । दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा अवरुद्ध भएको टेलिफोन सेवा एक सातापछि सञ्चालन भएको दूरसञ्चार कार्यालयका प्रमुख प्रेमकुमार राईले जानकारी दिनुभयो ।

गत चैत २७ गते भोटखोला वडा नं २ र ४ को सिमानामा रहेको लची डाँडामा राखिएको टावरमा चट्याङले बिगारेपछि टेलिफोन सेवा अवरुद्ध भएको थियो ।

ब्याट्री ब्याकअप, उपकरण र टावरका सामग्री पड्केपछि टेलिफोन सेवा अवरुद्ध भएको थियो । टेलिफोन सेवा सञ्चालन भएपछि भोटखोला वडा नं २ र ३ का हटिया, च्याम्ताङ, चेपुवा, लिङगम, छुम्सुर, रिदाकलगायत दर्जनौँ गाउँका बासिन्दा लाभान्वित भएका छन् ।

विद्युत् सेवा नपुगेका दुर्गम गाउँमा विटिएस टावर अझै सोलारका भरमा चल्ने गरेका छन् । प्रतिकूल मौसम र कठिन भूगोल भएका कारण सदरमुकाम खाँदबारीबाट प्राविधिक टोली समयमा पुग्न कठिन भएको थियो । उच्च हिमाल क्षेत्रमा हावाहुरी र चट्याङ पर्ने भएका कारण टावरमा समस्या आउने गरेको छ ।

विद्युत् विस्तार नभएका दुर्गम भोटखोलाको टेलिफोन सेवा घाम अस्ताएसँगै बन्द हुने गरेको छ । विद्युत् नभएका कारण बर्खायाममा भोटखोलाको टेलिफोन सेवा घामसँगै बन्द हुने गरेको छ । विद्युत् विस्तार नहुँदा नेपाल टेलिकमका मोबाइल प्रयोग गर्ने भोटखोलाका नागरिकले मौसमका भरमा सेवा पाउने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर