इस्कोन विराटनगर विवादको नालीबेली — OSNepal

इस्कोन विराटनगर विवादको नालीबेली

LC (KTM) April 19, 2024 0

विराटनगर । वि. सं. २०८० माघ ८ गते नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन नेपाल)ले एक विज्ञप्ति जारी गरी विराटनगर -१०, ट्राफिक चोक, नमस्ते गल्लि स्थित शैलेन्द्र यादव ( सिद्धस्वरूप दास)को नेतृत्व एवम् मनिष राई ( मनः शिक्षा दास) को अध्यक्षतामा रहेको विराटनगर शाखाको समितिलाई खारेज गर्यो।

हाल: मनिष राई, शैलेन्द्र यादव र खगेन्द्र बहादुर बस्नेत माथी ठगी कसुर सम्बन्धी मुद्दामा वि. सं. २०८० साल चैत्र २९ गते जिल्ला प्रहरी कार्यालय मोरङले प्रक्राउ गरी ३० गते काठमाण्डौ स्थित टेकु प्रहरीको हिरासतमा ल्याई अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ। कृष्ण चन्द्र यादव र वैजनाथ कुमार गुप्ता भने अझै फरार छन् ।
विवादका विषयहरू:
१. आर्थिक
इस्कोन बिराटनगरका निर्वर्तामन अध्यक्ष मन: शिक्षा दास (मनिष राई) तथा भूतपूर्व अध्यक्ष सिद्धस्वरुप दास (शैलेन्द्र यादव) र भूतपूर्व सचिव खगेन्द्र बहादुर बस्नेतको मिलोमतोमा फर्जी रसिद सिद्धस्वरूप दास (शैलेन्द्र यादव) ले आफ्नै सम्पर्क नं राखी ५० थान रसिद छापि आर्थिक हिनामिना गरेका थिए।
इस्कोनका अडिटरले सो रसिद तथा बिल भरपाई जाँचबुझ गर्दा शाखाको बैंक खातामा दान रकम दाखिला नगरेको, नक्कली बील-भरपाई बुझाएको भेटिएको थियो ।

रसिदबाट जम्मा रकम शाखाको बैंक खातामा जम्मा नै नगरेको साथै सिद्धस्वरूप दास (शैलेन्द्र यादव) र खगेन्द्र बहादुर बस्नेतले २०७९ असोज १० गते केन्द्रिय कार्यसमितिलाई जानकारी नदिई मनोमानी ढंगमा शाखा समिति गठन गरी बिराटनगर शाखाको नेपाल एस. वि. आई
बैंकको बैंक खातामा कृत्य दस्तखत राखेका थिए।

पछि केन्द्रिय कार्यसमितिले यो कुरा थाहा पाएर २०७९ पौष २५ गते तदर्थ शाखा समिति गठन गरी बैंकमा दस्तखत परिवर्तन गर्न निर्देशन दिंदा पनि सिद्धस्वरूप दास (शैलेन्द्र यादव) र खगेन्द्र बहादुर बस्नेतले मनः शिक्षा दास (मनिष राई)सँगको मिलोमतोमा निर्वर्तामन तदर्थ समिति खारेज नहुँदासम्म (१ वर्ष भरी) आफ्नै दस्तखत राखी बैंक खाता संचालन गरेका थिए।
अघिल्लो आ.व. मै संस्थाको चल-अचल सम्पती बुक गर्न केन्द्रिय कार्य समितिको निर्देशन अटेर गरेका थिए।
संस्थाको आर्थिक पाटोमाथि नै प्रश्न उठेपछि वरिष्ठ अधिवक्ता तथा सम्बन्धित निकायको सल्लाह बमोजिम यो प्रहरी अनुसन्धान अघि बढाउने दुःखद कदम चाल्नु परेको इस्कोनका एक अधिकारीले जानकारी गराए।

२. संस्थागत विधान विपरितका गतिविधि
फर्जी रसिद छापेको थाहा पाए पछि इस्कोनको केन्द्रिय कार्य समितिले उनीहरूसँग शाखाको आय-व्यय विवरण मागेको थियो । वार्षिक रुपमा संस्था नविकरण गर्नुपर्ने भएकाले हाम्रो संस्थाको नियम बमोजिम हामीले त्रैमासिक आय-व्यय विवरण माग्ने इस्कोन नेपालको विधान छ।

तर उहाँहरुले त्यसको अटेर गरेर उल्टै २०८० बैशाख २३ र २०८० भाद्र ३१ गते इस्कोन नेपालको विधान तथा केन्द्रिय कार्यसमितिको निर्देशन मान्दैनौं भनी माइन्युट गरी पत्राचार गरे। त्यहि बीचमा उहाँहरुले केन्द्रिय कार्य समितिका उपाध्यक्ष, सचिव, सह-सचिव र कोषाध्यक्षको नक्कली सहिछाप राखी माइन्युट गरेको फेला पर्यो।
त्यसपछि आध्यात्मिक संस्था भएको कारणले गुरुजनहरूको सहायता लिई हिसाबकिताब बुझाउनका लागि अनुरोध भयो तर नतिजा शून्य नै रह्यो।
त्यसपछि सिद्धस्वरूप दास (शैलेन्द्र यादव) लाई संस्थाको वार्षिक साधारण सभामा आफ्नो कुरा राख्ने मौका दिईयो। तर मिति २०८० आश्विन १९ को साधारण सभामा उनले आफ्नो गल्ति स्वीकार नगरी उल्टै संस्थागत अनुशासनमा नचल्ने हिन्ट दिए।

२०८० वैशाख २५ मा केन्द्रिय कार्य समितिलाई थाहै नदिएर घरधनीलाई भ्रममा पारी मनः शिक्षा दास (मनिष राई)ले घरबहाल सम्झौता तोडेर २०८० जेठ १ मा वैजनाथ कुमार गुप्ताको नाममा घरबहाल सम्झौता गरिसकेको भेटिएको थियो।

९ महिना सम्म बिराटनगर शाखा कुनै घरबहाल सम्झौता विहिन भई गैरकानुनी रुपमा सोहि भवनमा बसेर संस्थाले गैरकानुनी रुपमा तेस्रो व्यक्ति (बैजनाथ कुमार गुप्ता) लाई भुक्तानी दिइएको थियो।

३. आफबाह
सिद्धस्वरूप दास (शैलेन्द्र यादव) ले फेसबुक, ह्याटएप
ग्रुप तथा प्रत्यक्ष सार्वजनिक रूपमा अझै पनि इस्कोनको प्रतिनिधत्व गरेको भनी झुटो संदेश प्रवाह गर्नुका साथै निजले संस्था र केन्द्रिय कार्य समितिका पदाधिकारीहरू विरुद्ध द्वेष तथा अफवाह फैलाउदै आइरहेका छन्।
सँगै भक्तहरू माझ पनि केन्द्रिय कार्य समितिले इस्कोनको आन्तरिक व्यवस्थापकीय निकाय जी. वि. सी. को निर्देशन मान्दैन भनेर झुटलाई पृष्ठ पोषण गरीरहेका छन्।

४. केन्द्रिय समितिका पदाधीकारीहरु माथी हातपात
वि. सं. २०८० पौष १३ गते बेलुकी करिव ७ बजे संस्थाका सचिव लागतका केन्द्रिय कार्य समितिका पदाधिकारी माथी शैलेन्द्र यादव र खगेन्द्र बस्नेतको टिमले गुण्डा गर्दी शैलीमा हातपात जस्तो अशोभनीय क्रियाकलाप गरेका थिए।

५. सम्झौता उल्लंघन:
केन्द्रिय पदाधिकारीहरू माथी पहिले पनि हातपात भएपश्चात जिल्ला प्रशासन कार्यालय, काठमाडौँको सहायता लिई सहमतिको प्रक्रिया अघि बढ्यो। जिल्ला प्रशासन कार्यालय, काठमाडौँले सो पत्र जिल्ला प्रशासन कार्यालय, मोरङतर्फ अघि बढायो ।
जि.प्र.का. मोरङको रोहवरमा २०८० माघ ८ गते छलफल गरी कानूनी रुपमा गलत कार्य गरेकाले प्रमुख जिल्ला अधिकारीको निर्देशन बमोजिम सम्झौता गरी अब आइन्दा संस्थाको नाम, छाप, लेटरप्याड, लोगो प्रयोग नगर्ने र २०८० माघ १९ गते भित्र सम्पूर्ण आय-व्यय विवरण तथा कागजात फिर्ता गर्ने गरि सहमति भयो।
तत्पश्चात २०८० माघ २१ गते पुनः जि.प्र.का. मोरङमा सम्पूर्ण फर्जी रसिद र बिल-भरपाई लिएर प्रमुख जिल्ला अधिकारीको निर्देशन बमोजिम २०८०/११/३० सम्म त्यसको हिसाब जाँचबुझ गर्ने सहमति भयो।

तर, हालसम्म पनि उनीहरूले इस्कोनको नाम र लोगो प्रयोग गरी फेरी इस्कोनको जस्तै देखिने फर्जी रसिद बनाएर दान संकलन गरिरहेको भेटिएको छ।
साथै सम्मानित जिल्ला अदालत, मोरङमा अपूर्ण जानकारी दिई स्टे अर्डर समेत लिएका थिए।

६. केन्द्रिय कार्यसमितिद्वारा बेतिथि सुल्झाउन गरिएको प्रयास :
इस्कोन नेपालका अडिटरले उचित कागजातहरूको माग गर्दा पनि नपाएपछि २०८० फाल्गुन २९ गते मनः शिक्षा दास (मनिष राई)लाई कोषाध्यक्षद्वारा उचित हिसाबकिताब मिलान गर्नका लागि सहयोग गर्न पत्राचार भयो । तर २०८० फाल्गुन ३० गते नै मनः शिक्षा दास (मनिष राई) सहकार्य नगर्ने संकेत गर्दै पत्राचार गरेका थिए।

संस्थाले ५ महिनादेखि यस विषयलाई आन्तरिक रुपमा मिलाउने पटक पटक प्रयास गरेको तर अन्तिम प्रयास स्वरूप सिद्धस्वरुप दास (शैलेन्द्र यादव) लाई फोन कल गरेर १ घण्टा कुरा गर्दा गर्दा उल्टै धम्किपूर्ण भाषा प्रयोग गरेका थिए।

यसरी सम्झौताको प्रयास त संस्थाले १.५ वर्षको अवधिमा २ पटक आन्तरिक, २ पटक जिल्ला प्रशासन समक्ष र १ पटक प्रहरी समक्ष गरी ५ पटक गरिसकेको भए पनि उक्त कार्य फलीभूत हुन सकेन।
यसअघि गत फाल्गुन ५ गते पत्रकार सम्मलेन मार्फल मनिष राईको टिमले ईस्कोन नेपाल सँग उनीहरूले आफ्नो आर्थिक, सामाजिक, भौतिक, कानुनी र नैतिक पाटोलाई सम्बोधन नै नगरी अनावश्यक हस्तक्षेप गर्दै आफै शाखा चलाउन खोजेको आरोप लगाएका थिए।

वि. सं. २०८१ साल वैशाख १ गते शनिबारको दिन पनि सिद्धस्वरूप दास (शैलेन्द्र यादव) मातहतका १०-१२ जना व्यक्ति हालको बिराटनगरको केन्द्रमा गई भक्तजनहरूलाई धाक-धम्कि दिएको र समयमै प्रहरी उपस्थित भएकाले परिस्थिति नियन्त्रणमा आएको इस्कोन विराटनगर शाखाले जानकारी गराएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर