मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक पुगे — OSNepal

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक पुगे

LC (KTM) April 19, 2024 0

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ महिनाको अवधिमा आठ हजारभन्दा बढी विदेशी पर्यटक घुम्न पुगेका छन् । चालु आर्थिक वर्षको साउन महिनायता मनास्लु क्षेत्रमा आठ हजार चार सय ५४ विदेशी पर्यटक भ्रमणका लागि मनास्लु क्षेत्रमा पुगेको मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय (एमक्याप)का प्रमुख सन्तोष शेरचनले जानकारी दिनुभयो ।

चैतमा मात्रै एक हजार आठ सय २८ पर्यटकले मनास्लु क्षेत्रको भ्रमण गरेको उहाँले बताउनुभयो । मनास्लु क्षेत्र भ्रमण गर्नेमध्ये सार्क राष्ट्रभन्दा बाहिरका पर्यटक अत्यधिक रहेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । यस वर्ष मनास्लु क्षेत्रमा पुगेका पर्यटकमध्ये सार्क राष्ट्रका एक सय ५२ जना रहेका छन् भने आठ हजार तीन सय दुई अन्य देशका पर्यटक रहेको प्रमुख शेरचनले बताउनुभयो ।

मनास्लु भ्रमण गर्ने पर्यटकमा महिलाभन्दा पुरुष पर्यटकको सङ्ख्या बढी रहेको पाइएको छ । उक्त अवधिमा चार हजार आठ ५३ पुरुष, तीन हजार पाँच सय ९७ जना महिला र चार अन्य पर्यटकले मनास्लु क्षेत्रको भ्रमण गरेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

“पछिल्लो समय मनास्लु पदमार्ग ट्रेकिङ टुरिज्ममा सबैभन्दा बढी सम्भावना बोकेको पर्यटकीय क्षेत्र बन्दै गएको छ”, उहाँले भन्नुभयो, “पर्यटकको आकर्षण हेर्दा पनि मनास्लु क्षेत्रमा ट्रेकिङ टुरिज्ममा सम्भावनालाई झनै बलियो बनाउँदै लगिएको छ ।”

गएको दुई वर्षको अवधिमा समेत मनास्लु क्षेत्रमा पर्यटकको सङ्ख्या बढ्दै गएको पाइएको छ । मनास्लु क्षेत्रमा गएको आर्थिक वर्ष २०७९÷८० मा सात हजार सात सय पाँच विदेशी पर्यटकले मनास्लु क्षेत्रको भ्रमण गरेका थिए । यस वर्ष सकिन तीन महिना बाँकी रहँदा नै गएको आर्थिक वर्षमा भन्दाबढी पर्यटक मनास्लु क्षेत्रमा पुगेका हुन् ।

“यस वर्ष करिब १२ हजारभन्दा बढी पर्यटक मनास्लु पुग्ने अपेक्षा गरिएको छ”, प्रमुख शेरचनले भन्नुभयो, “अहिलेसम्मको अवस्थालाई हेर्दा कार्यालयले गरेको अनुमान पूरा हुने देखिएको छ ।” मनास्लु पदमार्गमा घुम्न पुग्ने पर्यटकले चुम भ्यालीतर्फ विश्वकै सर्वाधिक चर्चित सृङ्गी हिमाल, राजेन र मु गुम्बा अवलोकन गर्न पाउनेछन् ।

त्यस्तै पर्यटक नुब्री भ्यालीतर्फ कल्छुमन (काल) ताल, विश्वको आठौँ अग्लो मनास्लु हिमाल तथा वीरेन्द्र तालको अवलोकन गर्दै लार्के पास गरेर मनाङ पुग्न सक्नेछन् । दुवै क्षेत्रमा हिमचितुवाका साथै नाउर, घोरल, डाँफे, मुनाल र चौँरीसँगको सामिप्यतामा पर्यटक रमाउन पाउने भएकाले पनि मनास्लु क्षेत्र पर्यटकको रोजाइमा पर्ने गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर