महाकुम्भ मेलामा १० दिनमा दुई लाखभन्दा बढी दर्शनार्थी सहभागी — OSNepal

महाकुम्भ मेलामा १० दिनमा दुई लाखभन्दा बढी दर्शनार्थी सहभागी

LC (KTM) April 20, 2024 0

धरान (सुनसरी), ८ वैशाख : सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा सञ्चालन भइरहेको १२ वर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलामा १० दिनमा दुई लाखभन्दा बढी दर्शनार्थी सहभागी भएका छन् ।

बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेला मूल आयोजक समितिको तथ्याङ्कअनुसार मेलामा सामान्य अवस्थामा दैनिक १५ हजारभन्दा बढी र महास्नानका बेला २५ देखि ३० हजार दर्शनार्थी सहभागी हुने गरेका छन् । मूल आयोजक समितिका सहअध्यक्ष तथा बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले दैनिक दर्शनार्थी बढिरहेको बताउनुभयो ।

आयोजकले एक महिनाभरमा करिब ३० लाख दर्शनार्थी सहभागी हुने अनुमान गरेर सोहीअनुरुप मेलाको व्यवस्थापन गरिएको जनाएको छ । दश दिन बितिसक्दा जम्मा दुई लाखमात्र दर्शनार्थी सहभागी हुनुले आयोजकले लक्ष्यअनुसार एक महिनामा ३० लाख दर्शनार्थी सहभागी आउन सम्भव नहुने चर्चा चलिरहेको छ ।

सहअध्यक्ष तथा नगरप्रमुख कार्की भने दैनिकरुपमा दर्शनार्थी बढ्दै गएकाले अन्तिमसम्ममा लक्ष्य पूरा हुने अपेक्षा गरिएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “पछि दर्शनार्थी बढ्दै जाने विगतको पनि अवस्था हेर्दा हामी लक्ष्यमा पुग्र्छौं भन्ने लाग्छ ।” कुम्भमेलामा बिहानैदेखि दर्शनार्थीको भीड लाग्ने गरेको छ ।

सप्तकोसीमा स्नान गर्न, कुम्भको दर्शन गर्न, प्रवचन सुन्न र घुमघाम गर्न दर्शनार्थी आइरहेका छन् । कुम्भमा सहभागी हुन पूर्वी नेपालबाट मात्र होइन पश्चिमका बैतडी, दाङ, बाजुरा, अछाम, डडेलधुरालगायतका जिल्लाबाट मान्छेहरु आइरहेको कार्कीले बताउनुभयो ।

त्यस्तै मधेसका सप्तरी, सिरहादेखि भारतबाटसमेत उल्लेख्यरुपमा दर्शनार्थी आइरहेको आयोजकको भनाइ छ । टाढादेखि आउने दर्शनार्थीका लागि खाना र बस्नको व्यवस्था मिलाइएको छ । त्यस्तै यातायात, पार्किङ, पानी, शौचालय जस्ता आधारभूत कुराहरुको उचित व्यवस्थापन गरिएकाले अधिकांश दर्शनार्थी सन्तुष्ट देखिएको सहअध्यक्ष तथा नगर प्रमुख कार्कीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर