प्रदेश सरकारले खेलकुद क्षेत्रमा बजेट बढाउँछ : मुख्यमन्त्री सोडारी — OSNepal

प्रदेश सरकारले खेलकुद क्षेत्रमा बजेट बढाउँछ : मुख्यमन्त्री सोडारी

LC (KTM) April 20, 2024 0

अत्तरिया (कैलाली), ८ वैशाख : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले प्रदेश सरकारले खेलकुदका क्षेत्रमा बजेट बढाउने बताउनुभएको छ ।
सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले आज धनगढीमा आयोजना गरेको अन्तर प्रदेशस्तरीय खेलकुद र १४औँ राष्ट्रपति रनिङसिल्ड प्रतियोगिताको पदक प्राप्त खेलाडीलाई बधाई तथा सम्मान कार्यक्रममा उहाँले प्रदेश सरकारले खेलकुद क्षेत्रमा बजेट बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री सोडारीले भन्नुभयो, “खेलकुदका क्षेत्रमा यस प्रदेशलाई स्थापित गर्न प्रदेश सरकारकातर्फबाट आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा यसअघिभन्दा उत्साहपूर्ण ढङ्गले बजेट विनियोजना गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।”

उहाँले हिजोका दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने सुदूरले राष्ट्रपति रनिङसिल्ड प्रतियोगितामा प्रथम भएर नयाँ आशा जगाएको बताउनुभयो । मुख्यमन्त्री सोडारीले पदक प्राप्त खेलाडीलाई प्रदेश सरकारले सम्मानस्वरुप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

राष्ट्रिय खेलकुद परिषद्ले यही वैशाख ४ देखि ६ गतेसम्म काठमाडौँमा आयोजना गरेको १४औँ राष्ट्रपति रनिङसिल्ड प्रतियोगितामा यस प्रदेशले १९ स्वर्ण, १२ रजत र १८ कास्य गरी ४९ पदक प्राप्त गरी प्रथम भएको सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले जनाएको छ ।

बागमती प्रदेश खेलकुद परिषद्ले विसं २०८० चैत २५ गतेदेखि यही वैशाख १ गतेसम्म चितवनमा आयोजना गरेको अन्तर प्रदेशस्तरीय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमले २१ स्वर्ण, २१ रजत र २९ कास्य गरी ७१ पदक प्राप्त गरी दोस्रो स्थान हासिल गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर