धूपबाट सल्किएको आगोले शिवनगरमा तीन पसल जलेर नष्ट — OSNepal

धूपबाट सल्किएको आगोले शिवनगरमा तीन पसल जलेर नष्ट

LC (KTM) April 22, 2024 0

बरहथवा (सर्लाही), १० वैशाखः घर ढलान गर्न पूजा गरेको धूप सल्किएर सर्लाहीको चक्रघट्ट गाउँपालिका–१ शिवनगरमा आज तीनवटा पसल जलेर पूर्ण रुपमा नष्ट भएको छ । आगलागीबाट विन्देश्वर साहले सञ्चालन गरेको दुईवटा पसल जलेको छ । त्यसैगरि मिश्रीलाल ठाकुरको हावा भर्ने पसल पनि पूर्णरुपमा जलेको प्रहरीले जनाएको छ ।

साहकै निर्माणाधीन घरमा बालेको धूपबाट सल्किएको आगोले उहाँकै औषधि पसल र जुत्ता–चप्पल पसलमा आगो लागेको स्थानीयको भनाइ छ । आगोले निर्माणाधीन घरमा क्षति पुगेको छ । साहको निर्माणाधीन पक्की घरको दोस्रो तल्लाको छत ढलानको तयारीका लागि पूजा गरिएको थियो । पूजामा धूप बालेर ढलान गर्ने कामदारहरू खाना गएको बेला आगो सल्किएको हो ।

आगलागीबाट भएको क्षतिको विवरण सङ्कलनको काम भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो । स्थानीय, प्रहरी र हरिवन नगरपालिकाको वारुणयन्त्रको सहायताले आगो निभाइएको थियो । समयमै आगो निभाउन सकिएकोले थप क्षति हुन नपाएको स्थानीयको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर