इस्मा आगलागी : आँखै अगाडि खरानी बने सम्पत्ति र सपना — OSNepal

इस्मा आगलागी : आँखै अगाडि खरानी बने सम्पत्ति र सपना

LC (KTM) April 23, 2024 0

तम्घास – गुल्मीको इस्मा गाउँपालिका-२ का चन्द्रबहादुर कुँवरले पाँच वर्षअघि १४ लाख खर्चेर दुईतले पक्की घर बनाउनुभएको थियो । जीवनमा धेरै दुखले बनाएको सोही घर शनिबार गाउँमा पसेको आगोले निमेषभरमा खरानी भयो । जङ्गलबाट आगो बस्तीमा पस्दा उहाँको घरगोठसहित कुटानी–पिसानी गर्ने मिल र नौवटा बाख्रा आगोमा परे ।

एक महिना अघिमात्र कान्छा छोराको बुहारी भित्र्याउनुभएको उहाँको बिहेका गर-गहनासहित घरमा भएका अन्न, लत्ताकपडा, गोठमा भएको घाँसपात केही बाँकी रहेनन् । उहाँले सुरु गर्नुभएको व्यावसायिक बाख्रापालनको पनि नाम निशाना रहेन । घरमै सञ्चालन गरेको मिल पनि आगोले खरानी बनायो ।

“हेर्दाहेर्दै एकैछिनमा घरसहित सबै सामान जले” उहाँले भन्नुभयो, “आँखै अगाडि सम्पत्ति र सपना दुवै खरानी भयो ।” आफूहरु बल्लतल्ल घरभन्दा पर पुगेर ज्यान जोगाउन सफल भएको उहाँले बताउनुभयो । गोठमा रहेका भैँसी र गोरु फुकाएर भगाउन भ्याउँदा बाँचे ।

सोही गाउँका घनबहादुर कुँवरले पनि किराना पसल सञ्चालन गर्नुभएको थियो । परिवार चलाउन किराना पसलले सहयोग पुगेको थियो । आगो लागेको दिन शनिबार बिहान उहाँ बिहे भोजको निम्तो गर्न बँेसी झर्नुभएको थियो । सोही समयमा जङ्गलबाट आएको आगोले उहाँको किराना पसल, घर, गोठ र चर्पी जलेर नष्ट भयो ।

“बस्ने बास, लाउने कपडा र अन्नपात सबै जल्यो,” उहाँले भन्नुभयो, “मेरा सबै आशा आगोले एकै छिनमा खरानी बनाइदियो ।” आगोले घर जलेपछि रेडक्रसले दिएको त्रिपालमुनि गुजारा चलाइरहनुभएको छ । आगोले घरका भैँसी र बाख्रा पनि मरेको उहाँले बताउनुभयो ।

सोही ठाउँकी कमला कुँवर शनिबार बिहान बिहे भोज खान छल्दी जानुभएको थियो । त्यही बेला गाउँमा लागेको आगोले उहाँको घर पनि बाँकी राखेन । “बिहान घरबाट निस्कँदा ठिकै थियो, फर्केर आउँदा घर थिएन,” कुँवरले भन्नुभयो, “आगोले मन छियाछिया भएको छ ।” सिङ्गो गाउँ सखाप हुनेगरी आगो लगाउनेलाई कारबाही हुनुपर्ने उहाँको माग छ ।

स्थानीय रामकुमारी थापाले आफ्नो छोरा अर्काको घर जोगाउन जाँदा आफ्नो गोठ जलेको बताउनुभयो । गोठको आगो निभाउन घरको छानो भत्काए पनि सम्भव नभएको थापाको भनाइ छ । गोठमा आगलागी हुँदा दुईवटा भैँसी, दुईवटा बाख्रा र गहना जलेर नष्ट भएको थापाले बताउनुभयो ।

इस्मा रेडक्रसमा कार्यरत बैकुण्ठ कुँवरले अत्यधिक हावाहुरीले गर्दा सिङ्गो गाउँ सखाप भएको बताउनुभयो । “एक्कासि आगोको झिल्को फैलिन थाले, निभाउने र सहयोग गर्ने कुनै मौका रहेन,” उहाँले भन्नुभयो, “धन्न मानवीय क्षति हुन पाएन ।”

आगालगीबाट पीडित उहाँहरु प्रतिनिधिमूलक पात्र मात्रै हुन् । जिल्लाको विभिन्न ठाउँमा आगलागी हुँदा धेरै क्षति भएको छ । त्यसमध्ये पनि इस्मामा सबैभन्दा धेरै क्षति भएको छ । इस्माको वडा नं १, २ तथा ४ मा लागेको आगोले ६० भन्दा धेरै घर–गोठ जलेका छन् । सिङ्गो गाउँ आगोले सखाप बनाएको छ । आगलागीबाट करोडौँका भौतिक संरचना एवं सयौँको सङ्ख्यामा पशुचौपाया मरेका छन् । डढेलोले इस्मामा लु४त ६५३५ नंको ट्र्याक्टर जलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर