कालो ढुसीको औषधि पाउनै मुस्किल — OSNepal

कालो ढुसीको औषधि पाउनै मुस्किल

LC (KTM) July 30, 2021 0

कोरोनाका बिरामीलाई संक्रमण गर्ने कालो ढुसी (म्युकोरमाइकोसिस) का लागि प्रयोग हुने औषधि बजारमा पाइनै छाडेको छ । कालो ढुसी संक्रमणविरुद्ध प्रयोग हुने ‘इन्जेक्टेवल’ औषधि ‘लाइपोजोमल एम्पोटेरिसिन–बी’ अभाव हुँदा बिरामीलाई सकस हुने गरेको छ ।

यो औषधि भारतबाट आउने गथ्र्यो तर अहिले भारतले आयातमा प्रतिबन्ध लगाएपछि समस्या उब्जिएको हो ।स्वास्थ्य सेवा विभागले गत भदौ पहिलो हप्ता औषधि खरिदका लागि टेन्डर आह्वान गरेको थियो । आवेदन दिएको झण्डै २ महिना बितिसक्दा पनि अहिलेसम्म औषधि आयात हुन सकेको छैन । हालसम्म कालो ढुसी संक्रमणबाट नेपालमा २० जना बढी बिरामी भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

टेन्डरमा प्राइम लाइफ इन्टरनेसनल, आयानबीच प्रतिस्पर्धा थियो । प्राइम लाइफलप्रति भाइल १० हजार ६९४ रुपैयाँ र आयानले २२ हजार रुपैयाँप्रति भाइल खरिद गर्ने गरी टेन्डर भरेका थिए । प्राइमले भारतबाट र आयानले बंगलादेशबाट औषधि खरिदका लागि प्रस्ताव हालेका थिए ।राजधानी दैनिकमा खबर छ ।

हाल भारत सरकारले ‘कालो ढुसी’का लागि प्रयोग हुने औषधि खरिद प्रक्रियामा रोक लगाएको छ । प्राइमले भारतबाट १० हजार मात्रा ११ करोडमा र सोही मात्रा आयानले बंगलादेशबाट २२ करोड रुपैयाँमा ल्याउने प्रस्ताव टेन्डरमा गरेका थिए ।प्राइमका सञ्चालक मुकुन्दराज भण्डारीका अनुसार केही दिनमै भारतले आयात अनुमति दिने बताए । उनले भारत सरकारले जुन महिनामा आयात प्रतिबन्ध लगाएको भन्दै केही दिनमै भारत सरकारले प्रतिबन्ध खोल्ने भन्ने जानकारी प्राप्त गरेको बताए ।

औषधि आयातकर्ता संघका महासचिव पवन आचार्यले आमनागरिकको स्वास्थ्य पहिलो विषय भएको भन्दै जिम्मेबार निकाय संवेदनशील हुनुपर्ने बताए । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाअन्तर्गत आपूर्ति शाखा प्रमुख उपेन्द्र ढुगांनाका अनुसार कालो ढुसी संक्रमणविरुद्ध प्रयोग हुने औषधि खरिद प्रक्रियामै रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर