निर्वाचनका कारण आज साँझदेखि पूर्वी सीमानाका ७२ घण्टाका लागि बन्द — OSNepal

निर्वाचनका कारण आज साँझदेखि पूर्वी सीमानाका ७२ घण्टाका लागि बन्द

LC (KTM) April 23, 2024 0

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका सीमानाका आज साँझ ६ बजेदेखि ७२ घण्टाका लागि बन्द गरिएका छन् । भारतमा यही वैशाख १४ गते हुने दोस्रो चरणको लोकसभा निर्वाचनका लागि भारतीय आग्रहमा नेपाली नाका बन्द गरिएका हुन् । बन्द अवधिमा सर्वसाधारण र सवारी साधनको आवतजावत निषेध हुने स्थानीय प्रशासनले जनाएको छ ।

झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले काँकडभिट्टा, भद्रपुर, टाघनडुब्बा र गौरीगञ्ज नाका उक्त अवधिमा बन्द रहने जानकारी दिनुभयो । आज साँझ ६ बजे बन्द भएका ती नाका वैशाख १४ गते साँझ ६ बजे खुल्ने भएका छन् ।

भारतमा लोकसभाको दोस्रो चरणको निर्वाचन पश्चिम बङ्गालको दार्जीलिङ र विहारको किसनगञ्ज जिल्लामा यही बवैशाख १४ गते एकैदिन हुँदैछ । भारतका दुवै जिल्ला झापासँग सीमा जोडिएका छन् ।

उक्त अवधिमा नाकाबाट अति जरुरीबाहेक सर्वसाधारण र सवारी साधनको आउजाउ पूर्णतया बन्द हुने प्रमुख जिल्ला अधिकारी बाँस्तोलाले बताउनुभयो । उहाँले मतदानबाहेकका दिनमा अत्यावश्यक एम्बुलेन्स र हवाई सेवा प्रयोगकर्तालाई भने छुट दिइने जानकारी दिनुभयो ।

खुला सीमाका कारण चुनावका बेला सुरक्षा चुनौती बढ्न सक्ने भएकाले भारतीय सुरक्षा निकायको आग्रहमा सीमानाका बन्द गर्ने विगतदेखिकै प्रचलन रहेको प्रजिअ बाँस्तोलाले बताउनुभयो । नेपालमा चुनाव हुँदासमेत भारतीय पक्षले उसको सीमानाका बन्द गर्ने गरेको उहाँले बताउनुभयो । चुनाव लक्षित नाका बन्दका बेला सीमाको दशगजा क्षेत्रमा दुवै देशका सुरक्षाकर्मीले संयुक्त गस्ती गर्ने जनाएका छन् ।

भारतको दार्जीलिङ जिल्लासँग झापासँगै इलामको समेत सीमाले छोएको छ । उक्त अवधिमा इलामको पशुपतिनगर र मानेभञ्ज्याङ नाका बन्द गरिने बताइएको छ । भारतीय सञ्चार माध्यमका अनुसार भारतको पश्चिम बङ्गालको दार्जीलिङ, रायगञ्ज र बलुरघाट निर्वाचन क्षेत्रमा वैशाख १४ गते मतदान हुनेछ । सोही दिन विहार प्रान्तको किसनगञ्ज, पूर्णिया, कटिहार, भागलपुर र बाङ्का निर्वाचन क्षेत्रमा मतदान हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर