आगलागी र डढेलो नियन्त्रणमा गम्भीर बन्न सरकारलाई आग्रह — OSNepal

आगलागी र डढेलो नियन्त्रणमा गम्भीर बन्न सरकारलाई आग्रह

LC (KTM) April 28, 2024 0

काठमाडौँ, १६ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले देशभरि फैलिएको आगलागी र डढेलो नियन्त्रणमा गम्भीर बन्न सरकारलाई आग्रह गरेको छ । पार्टी महासचिव घनश्याम भुसालले आज एक विज्ञप्ति जारी गर्दै आगलागीमा परेर भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै पीडितको उद्धार, राहत र उपचारमा सङ्घ, प्रदेश र स्थानीय सरकारलाई सक्रिय भएर लाग्न अनुरोध गर्नुभयो । विज्ञप्तिमा भनिएको छ, “विगत केही समययता देशभरि आगलागी, डढेलो र तातो हावा (लू) लगायत घटनाबाट जनधनको व्यापक क्षति भएको छ । पछिल्लो एकसातामा देशभरि झन्डै एक हजारभन्दा बढी स्थानका जङ्गलमा आगलागी तथा डढेलो लागेको छ । डढेलो नियन्त्रणका क्रममा कैयन् सर्वसाधारण तथा सुरक्षाकर्मी हताहत भएका घटनाहरूले हामी सबैलाई दुखित र चिन्तित बनाएको छ ।”

महासचिव भुसालले तराई मधेस क्षेत्रमा र केही पहाडी भूभागहरूमा समेत तातो हावा लू चलिरहेकाले जनजीवन अस्तव्यस्त हुन सक्ने अवस्थालाई व्यवस्थापन गरी विपद् जोखिम न्यूनीकरणका साथै पीडित परिवारजनहरूलाई तत्काल उपचार, राहत र बसोबासको समेत यथोचित प्रबन्ध गर्न सङ्घीय, प्रदेश र स्थानीय सरकार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलगायत अन्य सरोकारवाला निकायलाई आग्रह गर्नुभयो । महासचिव भुसालले समयमै यस्ता विपद्हरूको तथ्याङ्क सङ्कलन गरी जनचेतना अभिवृद्धि गर्ने कार्यमा पहल गर्नुपर्ने उल्लेख गर्नुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर