संविधान संशोधनको नेतृत्व कांग्रेसले लिनुपर्छः प्रमुख सचेतक लेखक — OSNepal

संविधान संशोधनको नेतृत्व कांग्रेसले लिनुपर्छः प्रमुख सचेतक लेखक

LC (KTM) April 29, 2024 0

महेन्द्रनगर (कञ्चनपुर), १७ वैशाखः नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले अस्थिरताको जडबाट मुलुकलाई जोगाउन कमीकमजोरी सुधारेर संविधान संशोधन गरी अघि बढ्नुपर्ने बताउनुभएको छ ।कार्यकर्ता भेटघाटका क्रममा आज यहाँको बेलौरी नगरपालिका–९ रतनपुरमा आयोजित कार्यक्रममा प्रमुख सचेतक लेखकले केन्द्रमा ३२ सिट भएको पार्टीलाई प्रधानमन्त्री र सुदूरपश्चिम प्रदेशमा चार सिट भएको पार्टीलाई मुख्यमन्त्री बनाउनुपर्ने अवस्था रहेको बताउनुभयो । “यो जुन अस्थिरताको जड छ, यसबाट मुुलुकलाई जोगाउन हामीले आफूलाई सच्याउनु पर्छ”, लेखकले भन्नुभयो, “हाम्रा कमीकमजोरी छन् । संविधान संशोधन गरेर अगाडि बढ्नुपर्छ ।”

उहाँले संविधान संशोधनको नेतृत्व नेपाली कांग्रेसले लिनुपर्ने आशय व्यक्त गर्नुभयो । उच्च मनोबलका साथ पार्टीको गतिविधि बढाउन नेता तथा कार्यकर्तालाई उहाँको आग्रह थियो । २०७३ सालमा आफू मन्त्री हुँदा सुरु गरिएको कञ्चनपुरको दक्षिण क्षेत्रको हुलाकी सडक योजना अझै पूरा नहुनुमा निर्माण कम्पनीको बेवास्ता भएको उहाँले बताउनुभयो । “दैजी बैल्डाडी, बेलौरी–डोकेबजारसम्म हुलाकी सडक अझै पूरा नहुनुमा बजेट अभावलगायत कारण होइनन्”, लेखकले भन्नुभयो, “सडक निर्माण पूरा गर्न सम्बन्धित निकायमा फेरि पहल गर्छु ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर