सुशासनका निम्ति सबैले आवाज उठाउनुपर्छ : सरस्वती बजिमय — OSNepal

सुशासनका निम्ति सबैले आवाज उठाउनुपर्छ : सरस्वती बजिमय

LC (KTM) April 30, 2024 0

काठमाडौँ, १८ वैशाखः वर्तमान संसदीय अभ्यासप्रति मेरा केही फरक मत छन् । संसद्मा जे पनि बोल्नहुने जस्तो देखिन्छ । संसदीय मर्यादाविपरीतका अभ्यास भइरहेको छ । एकअर्काको विरोध गर्नबाहेक केही नगरेको देखियो । देशको सामाजिक–आर्थिक विकासका लागि सदनमा प्रतिनिधित्वका सबै राजनीतिक दल एकजुट हुनैपर्छ । जुन देश कानुनी आधारमा अगाडि बढेका छन् र एकजुट भएका छन् ती देश नै विकासको पथमा बढेका देखिन्छ । एकापसमा सहयोग एवं समर्थन भएमा मात्र देशको उन्नति सम्भव हुन्छ ।

देशमा भ्रष्टाचार अहिले निकै मौलाएको छ । आफूलाई नयाँ पार्टी भन्ने पनि देखावटीमात्र रहेछन् भन्ने कुरा घामजस्तै छर्लङ्ग भइसकेको अवस्था छ । सङ्गठित सहकारी अपराधमा परेर धेरै सर्वसाधारणको रकम ठगी भएको छ । धेरै जनताले दुःख पाएका छन् । बाहिर सबै छताछुल्ल भए पनि नयाँ दलमा आबद्ध नेताहरू केही नभएको जस्तो गरिरहेका छन् ।

देश विकास गर्नका लागि सुशासन र भ्रष्टाचार नियन्त्रण पूर्वशर्त हो । सुशासन भएन भने अरु केही हुँदैन । भ्रष्टाचारमा डुब्नेहरूलाई कारबाही गर्नुपर्छ । मेरो पार्टी नेपाली कांग्रेसले भ्रष्टाचारका लागि कारबाही गर्ने नै कुरा उठाइरहेको छ । भ्रष्टाचार नियन्त्रण भयो भनेमात्र जनता सुखी हुन्छन् ।

कानुन नबनेका हुनाले कतिपय कुरामा अप्ठ्यारो परिस्थिति उत्पन्न भएको सुनिन्छ । कानुन निर्माणका सन्दर्भमा हामी विपक्षी पार्टीमा भए पनि सही कानुन बनाउन कुनै रोकटोक हुँदैन, गरेका छैनौँ । सहयोग नै हुन्छ । आवश्यक कानुन छिटोभन्दा छिटो संसद्बाट बनुन् भन्नेमा कांग्रेस प्रतिबद्ध छ ।

देशका युवा र विद्यार्थी ठूलो सङ्ख्यामा विदेशिन थालेका छन् । जुन एकदम चिन्ताको विषय हो । मेरो मुख्य जोड भनेकै सूचना प्रविधि (आइटी) क्षेत्रमा विकास गर्नुपर्छ भन्ने हो । अनिमात्र युवा यहीँ टिक्छन् । नेपालमै युवालाई रोकेर राख्नुपर्छ । आइटी क्षेत्रलाई हरेक दृष्टिकोणबाट हेर्नुपर्छ । प्रविधि विकासमा बढी कर, भ्याट लगाउन थाल्यो भने युवा यहाँ बस्दैनन् । आइटी क्षेत्रमा रमाएका युवा विदेश पलायन हुनसक्ने खतरा भइरहन्छ ।

के गर्दा युवा यहीँ रहन्छन् र देशमा भएकालाई कसरी सुविधा दिएर अझ अगाडि बढाउने भनेर राज्यले सोच्नुपर्छ, योजना ल्याउनुपर्छ । युवालाई यहीँ बसेर काम गर्ने वातावरण सिर्जना गर्नतिर म पनि लाग्नेछु । आउँदो बर्खे अधिवेशनमा पनि यो विषयमा संसद्मा कुरा उठाउनेछु ।

नेपाल कृषिप्रधान देश हो तर यस क्षेत्रमा अपेक्षित प्रगति हुन सकेको छैन । हामी कृषि उपजमा परनिर्भर छाँै । न सिँचाइ, न मलखादको राम्रो व्यवस्था छ । पहाडी इलाकामा बाँदरले दुःख दिने समस्याले बस्ती नै उजाड भएका छन् । कृषि क्षेत्रलाई विकास गर्न सकियो भने विदेशमा किन जानुपर्यो ? आफ्नै देशमा उत्पादन गरेर बेच्ने ता कि बाहिरबाट किन्नु नपरोस् । आफ्नै देशको उत्पादन बिक्री गर्यो भने पनि धेरै सहयोग हुन्छ । पर्यटन क्षेत्रलाई विकास गर्न सक्यौँ भने धेरै पयर्टक भित्र्याउन सकिन्छ ।

म पहाडी जिल्ला खोटाङबाट प्रतिनिधित्व गर्छु । जिल्लामा बाटाघाटाको अवस्था निकै दयनीय छ । सडक धुलाम्मे र हिल्लामे छन् । कच्ची सडकमा दुर्घटना भइराख्छन् । यसले गर्दा जनताले दुःख पाएका छन् । जनसङ्ख्या कम भएको र पहाडी जिल्लालाई केन्द्रले हेर्ने दृष्टिकोण फरक पाएको छु । विकास निर्माणका लागि मन्त्री नै हुनुपर्नेरहेछ । मन्त्री भयो भने सबै बजेट जाने, नभए अरुलाई बजेट नै नदिने । अस्पताल सुविधायुक्त भए बिरामी पर्दा अन्यत्र जान नपर्ने भन्ने त्यहाँका मतदाताको माग छ । जुन जायज पनि छ । कृषिमा त्यस्तै अप्ठ्यारो छ । पानीको दुःख छ । पानीका मुहान सुक्दै गएका छन् । यस्ता गुनासालाई सम्बोधन चाहेर पनि गर्न सकिरहेका छैनाँै । त्यसकारण सरकारको ध्यान त्यतातिर जाओस् भनेर बेलाबेलामा सदनमा पनि आवाज उठाइरहेको छु । सदरमुकामकै हालत खराब छ भने गाउँको अवस्था झन् नाजुक छ । विकास निर्माणका काम सबैतिर बराबरी हुनुपर्छ भनेर आवाज उठाउँदै आइरहेको छु ।

खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुको भाग छुनेगरी दूधकोशी आयोजना पनि चाँडै सञ्चालन हुनेमा म विश्वस्त छु । त्यो जलाशययुक्त आयोजना छ सय ३५ मेगावाट क्षमताको हो । आफूले मात्र अरुको सहयोग लिने होइन कि सहयोग दिनसक्ने राष्ट्र बनाउन एकजुट भएर लाग्न जरुरी छ ।

मेरो जिल्लामा पर्यटन क्षेत्रमा विकासको पनि धेरै सम्भावना छन् । हलेसी मन्दिरमा बर्सेनि धेरै दर्शनार्थी आउँछन् तर त्यहाँ जाने बाटोमा भने सरकारले ध्यान दिनसकेको छैन । जयरामघाटबाट हलेसीसम्मको बाटो जताजतै भत्किएको छ । फेरि टालटुल हुन्छ फेरि भत्किन्छ । दिक्तेल बजारमा कालिकादेवी मन्दिर छ । त्यो पनि चर्चित छ । हलेसीसम्म आएका दर्शनार्थीहरू त्यो मन्दिरसम्म पनि जाउन् भन्नका लागि प्रचारप्रसारमा ध्यान दिन जरुरी देखिएको छ । त्यसैगरी अरु विभिन्न ठाउँ छन्, जहाँबाट निकै सुन्दर दृश्यावलोकन गर्न देखिन्छ । यी ठाउँको विकास गर्न सक्यौँ भने जिल्लामा पर्यटक भित्रिन्छन् । मेरो कार्यकालमा त्यतातिर ध्यान जानेछ ।

हलेसीको तुवाचुङ नगरपालिकामा लिफ्टिङ खानेपानी योजना मेरै पहलमा भएको हो । तर कहिले बिग्रिँदै कहिले बन्दै गरेकाले त्यहाँका जनताले राम्ररी पानी खान पाइरहेका छैनन् । अहिले केन्द्रबाट धेरै योजना नदिने अवस्था छ । पहिले सिँचाइ योजना, खानेपानी, बाटोघाटोमा बजेट प्रशस्त गरिएको थियो । जब नेपाली कांग्रेसले सरकार छाड्यो त्यसपछि अर्थतन्त्र क्षेत्रमा डामाडोल भयो । भविष्यलाई जम्मा गरेको पुँजी सबै सिद्धियो । नचाहिने योजनाजस्तै भ्यूटावरमा पैसा खन्याएर अर्थतन्त्र रित्तो भयो । भविष्यका लागि सोचेर देशलाई अप्ठ्यारो नपार्ने स्थिति राख्यो भने अवश्य देश विकास हुन्छ ।

जनताले हामीलाई सुझाव दिन जरुरी छ । देशको प्रगतिका लागि उहाँहरूले हामीलाई चुनेर पठाउनुभएको हो । सुशासनका निम्ति सबैले आवाज उठाउनु पर्छ । देशलाई समृद्धिको मार्गमा अग्रसर गराउन स्वदेशमा रोजगारीका अवसर सृजना गर्दै उनीहरूलाई विदेश पलायनबाट रोक्न सरकार, निजी क्षेत्रका साथै समाजका हरेक वर्गको सक्रिय सहयोग आवश्यक छ ।

सांसदको बजिमयको परिचय

सरस्वती बजिमय समानुपातिक निर्वाचन प्रणालीमार्फत नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य चुनिनुभएको हो । बजिमय दोस्रोपटक समानुपातिक सांसद बन्नुभएको हो । उहाँ २०७० सालमा पनि सांसद हुनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर