इतिहास जोगाउन स्थानीय सरकार — OSNepal

इतिहास जोगाउन स्थानीय सरकार

LC (KTM) April 30, 2024 0

काठमाडौँ, १७ वैशाख (रासस): धनकुटा जिल्लाको चौबिसे गाउँपालिका (साबिकको कुरुले तेनुपा गाविस) मा एउटा थुम्को छ । त्यस थुम्कोलाई गढी भनिन्छ । त्यस थुम्कोमा अहिले कुरुले तेनुपा माध्यमिक विद्यालयको भवन छ । ऐतिहासिक रुपमा सामरिक र प्रशासनिक दृष्टिकोणले अत्यन्तै ठूलो महत्त्व राख्ने कुनै बेला एउटा गढी थियो यो थुम्कोमा तर अब यस ऐतिहासिक गढीको कुनै पनि भौतिक संरचनाको अवशेष देख्न पाइँदैन । इतिहासको यो गढी अब एकादेशको दन्त्यकथा जस्तै हुन पुगेको छ ।
इतिहासकारहरुले गरेको यो गढीको चर्चाअनुसार यसको महत्त्व प्राचीनकालतिर पुग्छ । इतिहासकारद्वय प्रेमबहादुर मावोहाङ र भूपेन्द्रनाथ ढुङ्गेलले २०११ सालमा छापिएको आफ्नो पुस्तक सङ्क्षिप्त नेपाल इतिहासमा यो गढी यस क्षेत्रमा लिम्बूहरुको बसोबास सुरु भएदेखि नै तत्कालीन लिम्बू राजा मावोहाङ रायले निर्माण गरेको उल्लेख गरेका छन् ।

यस्तै, इतिहासकार शिवकुमार श्रेष्ठले २०४२ सालमा प्रकाशित भएको आफ्नो पुस्तकमा यो गढी लिम्बू राजा साइयोकहाङले निर्माण गरेको उल्लेख गरेका छन् । यो गढीका बारेमा पृथ्वीनारायण शाहको पत्रमा पनि उल्लेख छ । १८३१ साउनमा विजयपुरबाट अभिमानसिंह बस्न्यात र पारथ भण्डारीको नेतृत्वमा उत्तर पाँचथरतिर बढेको गोर्खाली सेना यो गढी पुगेको र त्यहाँबाट अगाडि बढेको पृथ्वीनारायण शाहको पत्रमा उल्लेख छ । सेनकालमा यो गढीबाट महत्त्वपूर्ण प्रशासन चल्थ्यो भन्ने ऐतिहासिक तथ्यको सङ्केत पृथ्वीनारायण शाहको पत्रबाट पनि मिल्छ । पछिसम्म यो गढीका कुरुवाहरुलाई जिम्मेवारी र जागिरहरु दिइएका ऐतिहासिक लालमोहरहरु पाइएका छन् ।

इतिहासको महत्त्व बुझ्न नसक्दा त्यस महत्त्वपूर्ण ऐतिहासिकस्थललाई मासेर विद्यालय भवन निर्माण गरिएको देखिन्छ । अब फेरि सञ्चालनमा आएको विद्यालय भवनलाई भत्काएर गढी भएको यो स्थलको उत्खनन् गर्न सम्भव छैन । त्यसैले यस गढीसम्बन्धी प्राप्त हुनसक्ने ऐतिहासिक पत्रहरु केलाएर गढीसम्बन्धी ऐतिहासिक अभिलेख भने राख्न सकिन्छ ।

धनकुटाको कुरुले गढी मासिएजस्तै नेपालमा यस्ता ऐतिहासिक स्थलहरु कति मासिए होलान् ? अब अन्य कुनै पनि ऐतिहासिक स्थलहरुलाई मासिनबाट जोगाउन सरोकारवाला स्थानीय सरकारले विशेष बुद्धिमत्ता अपनाएर पहलकदमी गर्न जरुरी छ । प्रकृतिले दिएको मात्रै होइन, पुर्खाले छाडी गएको निसानीले वर्तमानको गौरवलाई समृद्ध बनाउँछ । यस्ता गौरवहरु भावी पुुस्तालाई समर्पण गर्न सकिए उनीहरु पनि गौरवान्वित हुनेछन् । पुर्खाको निशानी मास्नु भनेको आफ्नै गौरव र सभ्यतालाई छिन्नभिन्न बनाउनु हो । यस्तो कार्यलाई किमार्थ उचित मान्न सकिन्न ।

शिलालेखहरुको संरक्षण

हाम्रा पुर्खाहरुको समयमा परत्र सुधारका लागि जनहितको काम गर्दा चौतारा, हिटी, पोखरी, मन्दिर तथा पाटीपौवा आदि बनाउने चलन थियो । यिनीहरुसँगै शिलालेख राखेर आफ्नो धर्मकीर्तिका बारेमा जानकारी दिने चलन थियो । अहिले पनि यस्ता महत्त्वपूर्ण शिलालेखहरु ठाउँठाउँमा भेटिन्छन् । कतिपय शिलालेखहरु त मासिएर पनि गएका छन् । कतिपय शिलालेखहरु घर वा सडक बनाउँदा प्रयोग भए होलान् ।

स्थानीय सरकारहरुले आफ्नो पालिका क्षेत्रभित्र रहेका सार्वजनिक स्थलका शिलालेखहरुको संरक्षण गर्न पहल गर्नुपर्छ । यस्ता शिलालेख राख्ने व्यक्ति वा परिवारले दर्साएको परोपकारी व्यवहारलाई उचित मूल्याङ्कन गर्नु वर्तमान पुस्ताको दायित्त्वभित्र पर्छ । यस्ता कीर्ति राख्नका लागि अरुलाई पनि उत्प्रेरित गर्न सकिने हुँदा इतिहासका यस्ता प्रमाणहरुलाई नष्ट हुनबाट जोगाउन स्थानीय सरकारहरुले गम्भीरतापूर्वक काम गर्न सक्छन् । भौतिक विकास तथा निर्माण गर्ने नाममा ऐतिहासिक धरोहरहरुसँगै इतिहासको प्रमाण बोल्ने शिलालेखहरु नष्ट हुन सक्नेतर्फ स्थानीय सरकार सावधान हुन जरुरी छ । इतिहासलाई नष्ट पार्ने अधिकार कसैलाई छैन ।

यस्तै, मन्दिरमा चढाइने घण्ट तथा ताम्रपत्रहरुमा पनि अभिलेखहरु लेखिएको पाइन्छ । यिनीहरु पनि इतिहासको प्रमाण बोल्ने साक्षीहरु हुन्, जसलाई संरक्षण गर्न स्थानीय सरकार प्रशस्तै कामहरु गर्न सक्छन् । शिलालेखहरुको संरक्षणको सन्दर्भमा हनुमानढोका दरबार क्षेत्रमा भेटिएको एउटा शिलालेखबारे यहाँ चर्चा गर्न उपयुक्त हुनेछ ।

इतिहासकार गौतमबज्र बज्राचार्यले आजभन्दा ५० वर्षअघि हनुमानढोका दरबार क्षेत्रको अध्ययनका क्रममा एउटा यस्तो शिलालेख फेला पारे, जुन हनुमानढोकाको देगुतले मन्दिरमा पेटी बनाउन प्रयोग गरिएको थियो । यसरी पेटी बनाउन प्रयोग गरिएको कारण शिलालेखको धेरै भाग खण्डित हुन पुगेको छ । अंशुवर्माको समयको यो शिलालेखमा ‘किरात’ भन्ने शब्द परेको छ ।

नेपालका किरातकाल थियो र किराती राजाहरु थिए भन्ने वर्णन गोपालराजवंशावलीलगायत अन्य केही वंशावलीमा पाइन्छ तर किरात लेखिएको कुनै अभिलेख भने पाइएको थिएन । लिच्छवीकालमा ‘किरात’ लेखिएको शब्द फेला परेकाले किरातकाल थियो भन्ने प्रमाण जुटाउनका लागि महत्त्वपूर्ण हुने यो शिलालेखमाथि इतिहासकार गौतमबज्र बज्राचार्यको पहिलो नजर पर्न गयो । त्यसपछि यो शिलालेखलाई इतिहासकारहरु धनबज्र बज्राचार्य तथा महेशराज पन्तले गम्भीरतापूर्वक अध्ययन गरेको पाइन्छ ।

अहिले यो शिलालेख हनुमानढोका सङ्ग्रहालयमा सुरक्षित राखिएको छ । गौतमबज्र बज्राचार्यजस्तो मर्मज्ञ इतिहासकारको नजर नपरेको भए यो शिलालेखको हालत के हुने थियो होला ? यस्ता ठूला महत्त्वका शिलालेखहरु स्थानीय स्तरमा पनि पाइने हुँदा तिनीहरुको संरक्षण गर्न सके इतिहास संरक्षणमा ठूलो योगदान गर्न सकिन्छ । यसबारे स्थानीय सरकारले हेक्का राख्न जरुरी छ, यस्ता शिलालेखहरु रोडा गिट्टीमा परिणत नहोउन् ।

भौतिकसँगै बौद्धिक विकास

झट्ट हेर्दा भौतिक विकास निर्माण मात्रै स्थानीय सरकारको दायित्त्वभित्र पर्ने काम हो कि जस्तो पनि लाग्छ । नेपालको सबै ठाउँमा सडक, विद्युत्, विद्यालय, खानेपानीजस्ता भौतिक पूर्वाधारहरुको विकास भइनसकेका कारण प्रायः सबैजसो स्थानीय सरकारले भौतिक पूर्वाधारमै जोडबल गरेको देखिन्छ । यसकै लागि स्थानीय सरकारहरुले अधिकतम बजेट छुट्याएर काम गरिरहेका छन् । यो अनावश्यक काम होइन तर भौतिक विकास र निर्माणसँगै पुरातात्विक र ऐतिहासिक धरोहरको संरक्षण र तिनीहरुको अभिलेखीकरणलाई पनि उत्तिकै प्राथमिकताको सूचीमा राखेर स्थानीय सरकारले उचित कदम चाल्न सके यसले उक्त पालिका क्षेत्रको बौद्धिक सौन्दर्य र पहिचानलाई यथोचित रुपमा स्थापित गर्न सक्छ । किनकि ऐतिहासिक धरोहरहरुको संरक्षण र अभिलेखीकरणले इतिहास संरक्षणका लागि वास्तविक सहयोग पु¥याउँछ । इतिहास भनेको ज्ञानको स्रोत हो । ज्ञानको स्रोतको संरक्षण बौद्धिक विकासको पर्याय हो । यस प्रकारको पहल कदमीबाट पनि ती पालिकाहरुको बौद्धिक सभ्यता आङ्कलन गर्न सकिन्छ ।

उदाहरणका लागि तेह्रथुम जिल्लाको लालीगुराँस नगरपालिकाको कामलाई लिन सकिन्छ । यस नगरपालिकाले चोत्लुङ पार्क निर्माण गर्दा पार्कभित्र लिम्बू परम्परागत घर निर्माण गरेको छ । यस नगर क्षेत्रमा घुम्न वा काम विशेषले पुग्नेहरुमध्ये सबैजसो यो पार्कमा पुग्छन् । त्यहाँ पुगेर लिम्बू परम्परागत घरलाई पृष्ठभूमिमा राखेर फोटो खिचाउँछन्, कोही सेल्फी खिच्छन् । यसरी यो पार्कले पर्यटकहरुलाई आकर्षण गरिरहेको छ । यो पार्कभित्र रमिता हेर्ने, फोटो खिच्ने र रमाउने साधनहरु मात्रै छैनन्, लिम्बू परम्परागत घरभित्र सिङ्गो सङ्ग्रहालय पनि छ ।

यस सङ्ग्रहालयमा पुराना भौतिक सामग्रीहरु प्रदर्शनमा राखिएका छन् । अझ यो सङ्ग्रहालयको अर्को विशेषता हो, पुराना अभिलेख तथा पुस्तकहरुको सङ्ग्रह । सङ्ग्रहालयभित्र सुरक्षित पुराना कागजपत्रहरु इतिहास अध्येताहरुका लागि ठूलो राहतका साधनहरु हुन् । त्यसैले यो पार्कमा पुग्दा भौतिक मनोरञ्जन मात्र होइन, बौद्धिक मनोरञ्जन पनि प्राप्त गर्न सकिने हुँदा यो पार्कको लक्ष्य प्राज्ञिक पर्यटन प्रवद्र्धन पनि रहेको देखिन्छ, खासगरी इतिहासको क्षेत्रमा ।

यस नगरपालिकाको मेयर अर्जुनबाबु माबुहाङ आफैँ पनि इतिहासकार र लिम्बू मुन्धुमविद् हुन् । उनले आफ्नो ज्ञानको भरमग्दुर प्रयोग यो पार्कमा गरेको देखिन्छ । पहिलेको तुलनामा अहिलेका स्थानीय सरकारहरु धेरै स्वायत्त र अधिकार सम्पन्न छन् । यस्तो अधिकार र स्वायत्ततालाई केबल भौतिक विकास र निर्माणको क्षेत्रमा मात्रै लागू गर्न हुँदैन । विकासको मापन भौतिक उन्नति र परिवर्तनको आधारमा मात्रै गरिनु हुँदैन । अझ भौतिक विकास निर्माणका क्रममा ऐतिहासिक र सांस्कृतिक सम्पदा ध्वस्त हुन पुगेको सन्दर्भ यो लेखको सुरुमै उल्लेख भइसकेको छ । विद्यालय भवन निर्माणको नामका एउटा सिङ्गो ऐतिहासिक गढीलाई मैदान हुनबाट जोगाऔँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर