नेपालगञ्ज उपमहानगरका स्थानीयलाई तातो हावा ‘लु’बाट जोगाउन घरदैलो अभियान — OSNepal

नेपालगञ्ज उपमहानगरका स्थानीयलाई तातो हावा ‘लु’बाट जोगाउन घरदैलो अभियान

LC (KTM) May 04, 2024 0

खजुरा (बाँके), २२ वैशाख : नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गतका स्थानीयलाई तातो हावा ‘लु’बाट जोगाउन उपमहानगरले सचेतनाका लागि घरघरमा स्वयंसेवक खटाएको छ । अत्यधिक गर्मी र तातो हावा ‘लु’को उच्च जोखिम रहेकाले नेपालगञ्ज–२१ र २२ मा घरदैलो अभियान सञ्चालन गरिएको हो ।

स्वयम्सेवकहरुले घरघरमा पुगेर स्थानीयलाई पर्चापम्प्लेटलगायत प्रचारप्रसार सामग्रीमार्फत गर्मी र ‘लु’ बाट बच्ने उपाय तथा अपनाउनुपर्ने सावधानीका उपायका बारेमा सिकाइरहेका रेडक्रस सोसाइटी बाँकेका सभापति गोवर्द्धन सिंह सम्झनाले बताउनुभयो । उहाँका अनुसार स्वयंसेवकले घर–घरमा पुगेर सचेतना फैलाउने काम गरिरहेका छन् ।

“उनीहरुले रेडक्रसबाट प्रदान गरिएको जनचेतनामूलक पर्चापम्प्लेट लिई घरधुरी सर्वेक्षण फारम समेत भरिरहेका छन् । घरदैलोका क्रममा उनीहरुले अत्यधिक गर्मी र लुबाट कसरी जोगिने, कस्ता खानेकुरा खाने, स्वास्थ्य स्याहार कसरी गर्ने, जोखिमका बेला कहाँ सम्पर्क गर्नेलगायत विषयमा जानकारी दिइरहेको छन्”, सभापति सम्झनाले भन्नुभयो ।

टिनको छाना भएका घर, दीर्घरोगी तथा अन्य स्वास्थ्य समस्या भएका बिरामी, गर्भवती, सुत्केरी, बालबालिका, ज्येष्ठ नागरिक, असहाय र अपाङ्गता भएकालगायतलाई अत्यधिक गर्मी र लुबाट बच्ने उपाय सिकाउन थालिएको स्थानीय आपत्कालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताउनुभयो ।

उहाँका अनुसार केही दिनअघि स्वयंसेवकलाई प्रशिक्षण दिएर घरदैलोमा खटाइएको छ । केही दिनदेखि यहाँ बढेको अत्यधिक गर्मी र तातो हावाले यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ । दिउँसोको समयमा मानिसको चलहपहल घटेको छ । गर्मीले यहाँका अस्पतालमा मौसमी बिरामीको सङ्ख्या समेत बढेको भेरी अस्पतालले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर