पार्टीबाट निर्वाचित स्थानीय जनप्रतिनिधिलाई एमालेको प्रशिक्षण — OSNepal

पार्टीबाट निर्वाचित स्थानीय जनप्रतिनिधिलाई एमालेको प्रशिक्षण

LC (KTM) May 04, 2024 0

लेखनाथ (कास्की), २२ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले स्थानीय तहमा आफ्नो पार्टीबाट गण्डकी प्रदेशबाट निर्वाचित जनप्रतिनिधिलाई तीनदिने प्रशिक्षण सुरूगरेको छ ।

शनिबारदेखि प्रशिक्षण कार्यक्रममा शुभारम्भ गर्दै नेकपा (एमाले) स्थायी कमिटी सदस्य थममाया थापाले एमाले नेतृत्वमा रहेका पालिकामा सुशासन र विकासलाई नमूनाका रूपमा अगाडि बढाउने उद्देश्यले प्रशिक्षण दिन थालिएको बताउनुभयो । उहाँले एमालेले पारदर्शिता, जवाफदेहिता र सुशासनमा जोड दिँदैआएकाले आफ्नो पार्टीबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिले त्यसलाई आत्मसात गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा एमाले गण्डकी प्रदेश कमिटी अध्यक्ष नवराज शर्माले पार्टी र जनप्रतिनिधिबीचको समन्वय र सहकार्यले मात्रै निर्धारित लक्ष्य प्रात्त गर्न सकिने भन्दै सुखी नेपाली समृद्ध नेपालको सपना पूरा गर्न प्रशिक्षण फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । एमाले पोलिटब्यूरो सदस्य एवं केन्द्रीय स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल, सचिव हर्कराज राई, केन्द्रीय स्कूल विभाग सदस्य रामशरण प्याकुरेलसहितका नेताहरूले प्रशिक्षणमा सहजीकरण गर्ने जानकारी दिइएको छ ।

प्रशिक्षणमा गण्डकी प्रदेशका स्थानीय तहमा एमालेबाट निर्वाचित प्रमुख, उपप्रमुख, जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख र प्रत्येक जिल्लाबाट एकजना वडाध्यक्षसहित पार्टीका जिल्ला कमिटी अध्यक्ष र इन्चार्ज गरी करिब एक सय जनाको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर