महिला सहभागितासँगै नेतृत्व विकासमा जोड दिनुपर्छ: मुख्यमन्त्री कँडेल — OSNepal

महिला सहभागितासँगै नेतृत्व विकासमा जोड दिनुपर्छ: मुख्यमन्त्री कँडेल

LC (KTM) May 04, 2024 0

भेरीगङ्गा (सुर्खेत), २२ वैशाखः कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले महिला सहभागितासँगै नेतृत्व विकासमा जोड दिनुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय महिला आयोगले आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको ‘नीतिगत तहमा महिलाको पहुँच स्थापित गराउने’ विषयक अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री कँडेलले महिला निर्णायक तहमा पु¥याउनसके समृद्धि हासिल गर्न पनि सघाउ पुग्ने बताउनुभयो । उहाँले कर्णाली प्रदेश प्राकृतिकरूपले धनी भए पनि गलत सामाजिक मूल्यमान्यताका आधारमा पछाडि रहेकाले महिलाको अवस्थामा सुधार हुननसकेको बताउनुभयो । “हाम्रो प्रदेश प्राकृतिकरूपमा अन्य प्रदेशभन्दा धनी छ तर अन्य क्षेत्रमा भने हामी पछाडि पारिएका छौँ”, मुख्यमन्त्री कँडेलले भन्नुभयो, “विगतमा भन्दा महिलाको अवस्थामा केही परिवर्तन भए पनि मूलभूतरूपमा अझ धेरै परिवर्तन गर्न बाँकी छ । त्यसलाई सुधार्न हामी सबैको योगदान जरूरी छ ।”

कर्णालीमा छाउपडी, बहुपतिलगायत कुप्रथा र विभेदहरू अहिले पनि कायम रहेका र शिक्षित वर्गबाटै महिलामाथि हिंसा हुनेगरेको भन्दै मुख्यमन्त्री कँडेलले त्यसले कर्णालीको विकासमा पनि असर पुर्याइरहेको धारणा राख्नुभयो । मुख्यमन्त्री कँडेलले सहभागिता र कार्यसम्पादन छुट्टाछुट्टै विषय भएकाले संविधानले सुनिश्चित गरेका महिला अधिकार कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभयो । राष्ट्रिय महिला आयोगले दिएका सुझावका आधारमा प्रदेश सरकारले महिला सशक्तीकरणका कार्यक्रमहरु सञ्चालन गर्दैजाने पनि मुख्यमन्त्री कँडेलको प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा कर्णाली प्रदेशका भौतिक पूर्वाधार राज्यमन्त्री गमता विकले विगतको तुलनामा अहिले महिला सहभागिताका लागि जागरण आएको भन्दै सहभागितालाई थप बढाउँदै लैजानुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले संविधानले सुनिश्चित गरेका महिला अधिकार पनि व्यवहारमा कार्यान्वयन गर्न नसिकएकाले अब तीनै तहका सरकारले अब व्यावहारिक सुधारमा लाग्नुपर्ने उहाँको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर