पाकिस्तानमा ६० वर्षभन्दा बढी अवधिमा ‘सबैभन्दा बढी वर्षा भएको अप्रिल’ रेकर्ड– मौसम विभाग — OSNepal

पाकिस्तानमा ६० वर्षभन्दा बढी अवधिमा ‘सबैभन्दा बढी वर्षा भएको अप्रिल’ रेकर्ड– मौसम विभाग

LC (KTM) May 04, 2024 0

पाकिस्तानले ‘सन् १९६१ पछि सबैभन्दा धेरै वर्षा भएको अप्रिल’ को अनुभव गरेको मुलुकको मौसम एजेन्सीले बताएको छ । अप्रिल महिनामा सामान्यभन्दा दुई गुणा बढी वर्षा भएको छ । अप्रिलमा ५९ दशमलव तीन मिलिमिटर भएको रेकर्ड गरिएको छ । यो सामान्य औसत २२ दशमलव पाँच मिलिमिटरभन्दा ‘अत्यधिक’ रहेको पाकिस्तानको मौसम विज्ञान विभागले रिपोर्टमा भनेको छ ।

भारी वर्षाका कारण चट्याङ र घर भत्किँदा कम्तीमा एक सय ४४ जनाको मृत्यु भएको रिपोर्टमा उल्लेख छ । पाकिस्तान अप्रत्याशित मौसमका साथै सामान्यतया जुलाईमा आउने विनाशकारी मनससनी वर्षाप्रति संवेदनशील भएको छ ।

विश्व बैंकको अनुमानअनुसार सन् २०२२ को गर्मीमा पाकिस्तानको एक तिहाई भाग अभूतपूर्व मनसुनी वर्षाका कारण जलमग्न हुँदा लाखौँ मानिस विस्थापित भएका थिए भने मुलुकलाई ३० अर्ब डलरको आर्थिक क्षति भएको थियो ।

पाकिस्तान मौसम विभागका प्रवक्ता जहिर अहमद बाबरले भन्नुभयो, “हाम्रो क्षेत्रमा अनियमित मौसमी ढाँचालाई प्रभावित बनाइरहने प्रमुख कारक जलवायु परिवर्तन हो ।”

एसियाका अधिकांश भागमा गर्मीको लहरले जलिरहेका बेला पाकिस्तानमा अप्रिल महिनामा राष्ट्रिय मासिक तापक्रम २३ दशमलव ६७ डिग्री सेल्सियस थियो । यो औसत २४ दशमलव ५४ डिग्रीभन्दा शून्य दशमलव ८७ डिग्री कम थियो । सबैभन्दा धेरै वर्षा दक्षिणपश्चिम प्रान्त बलुचिस्तानमा औसतभन्दा चार सय ७३ प्रतशित धेरै भएको रेकर्ड गरिएको छ ।

अधिकारीहरूका अनुसार पाकिस्तानमा विश्वको पाँचौँ सबैभन्दा ठूलो जनसङ्ख्या छ र विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनको एक प्रतिशतभन्दा पनि कमका लागि जिम्मेबार छ तर विश्वव्यापी तापक्रमले बढेको चरम मौसमका लागि अत्यधिक जोखिममा छ ।

सबैभन्दा धेरै मृत्यु उत्तरपश्चिमी खैबर पख्तुनख्वामा रेकर्ड गरिएको छ । उक्त प्रान्तमा ३८ बालबालिकासहित ८४ जनाको मृत्यु भएको छ भने तीन हजार पाँच सयभन्दा धेरै घर क्षतिग्रस्त भएका छन् ।

गत महिना युनिसेफले जलवायु परिवर्तनको अग्रपङ्क्तिमा रहेका बालबालिकालाई बचाउन तत्काल कदम चाल्न आह्वान गरेको थियो । “पाकिस्तानमा बालबालिका जलवायु सङ्कटको प्रभावका कारण ‘अत्यन्त उच्च जोखिम’ मा छन”, युनिसेफले भनेको थियो, “महत्त्वपूर्ण सहायता प्रयासका बावजुद सन् २०२३ डिसेम्बरसम्म बाढी प्रभावित क्षेत्रमा ९६ लाख बालबालिकालाई अझै पनि मानवीय सहायताको आवश्यकता थियो ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर